![]()
एजेन्सी । फेसबुक कम्पनीले फेसबुकबाट अनुपयुक्त सामग्री हटाउन विश्वभर ७ हजार ५ सय कामदार खटाएको छ । यसरी फेसबुक होस् या युट्युब, इन्टरनेटमा उपलब्ध सबै वेबसाइट र सेवाहरुलाई सुरक्षित राख्न छुट्टै खटाइएका यी अधिकारीहरुले आफ्नो मानसिक स्वास्थ्यलाई जोखिममा राखेर काम गरिरहेका हुन्छन् ।
कामदारहरुले बाल हिंसा, मारकाट, यातना, बलात्कार, हत्या, लगायतका क्रुर र एकदमै अनैतिक दृश्यहरु हेर्नुपर्ने हुन्छ, जसले उनीहरुमा पनि उत्तिकै गम्भीर मनोवैज्ञानिक असर पुर्याइरहेको हुन्छ । त्यसकारण पनि यो कामका लागि छनौट गर्दा सो व्यक्तिबारे थुप्रै कुरामा ध्यान दिइन्छ । जस्तै– पहिले त निरीक्षणकर्ता कुनैपनि धर्म वा परम्पराप्रति रुढीवादी धारणा राख्ने किसिमको हुुनु हुँदैन किनकी दैनिक अनुचित घटनाको सामना गर्नु उनीहरुका लागि पटक्कै सहज हुनेछैन । त्यसैगरी राम्रो नराम्रो छुट्याउन सक्ने भरपर्दो र अनुभवी हुन पनि उत्तिकै जरुरी छ । जस्तै– एक आमाभन्दा कलेज पढ्ने विद्यार्थी बढी योग्य मानिन्छ, जो भावनात्मक रुपमा बलियो हुन सक्छ ।
यसरी दिमाग खलबलाउने सामग्री हेर्न लगाइरहँदा सबै कम्पनीहरुले तिनलाई स्वास्थ्य सेवा सुनिश्चित गराएका हुन्छन् तरपनि आफ्नो कामदाताका अगाडि कमजोर र अयोग्य ठहरिने डरले अधिकांश कर्मचारीहरु स्वास्थ्य सुविधा लिनबाट पछि हटी एक्लै तनावको शिकार हुने गरेका छन् । यस्तोमा यो कामलाई सहज बनाउन अहिलेसम्म कुनै अनुसन्धान र अध्ययन नभएको उनीहरुको गुनासो छ ।
विशेषगरी पहिलोपटक काममा लगाउँदा कर्मचारीलाई कुन किसिमका सामग्री प्रतिबन्धित गर्नुपर्छ भन्ने सिकाउन सबैभन्दा चुनौतीपूर्ण हुने गरेको बताइएको छ ।


