Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार जमाल खशोग्जीको हत्याबारेको साउदी अरेबियाको प्रतिक्रिया ‘हालसम्मकै नराम्रो ढाकछोप’ भएको बताएका छन्। उनले हत्या योजनामा संलग्न जोकोही भए पनि ‘ठूलो समस्यामा पर्ने’ बताए।

राष्ट्रपति ट्रम्पको त्यस्तो भनाइ आएको केही समयपछि विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले घटनामा संलग्न भएकाहरूलाई ‘सजाय दिने’ बताए। उनले सन्दिग्ध २१ जनाको भिसा अमेरिकाले रद्द गर्न लागेको पनि जानकारी दिए।

अरब जगत्‌को आफ्नो एउटा महत्त्वपूर्व साझेदार साउदी अरेबियाप्रति कडा रवैया अपनाउन अमेरिकामाथि दबाब बढ्दो छ। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “उनीहरूको एकदम नराम्रो सोचाइ रहेछ, त्यो एकदम नराम्रो तरिकाले गरे र इतिहासकै त्यो सबैभन्दा नराम्रो ढाकछोप रह्यो।”

उनले अगाडि थपे, “त्यो सोचलाई त्यही रोक्नुपर्थ्यो किनकि जसले त्यसो गर्ने सोच बाहिर ल्यायो मेरो विचारमा त्यो ठूलो समस्यामा छ। र, उनीहरू ठूलो समस्यामा पर्नुपर्छ।”

साउदी अधिराज्यले खशोग्जीलाई के भएको हो भन्ने विषयमा विरोधाभाषपूर्ण विवरण दिँदै आएको छ। ५९ वर्षीय खशोग्जी जीवितै रहेको हप्तौँसम्म दावी गर्दै आएका रियादका अधिकारीहरूले अहिले आएर छाडा एजेन्टहरूले उनको हत्या गरेको स्वीकारेका छन्। अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास प्रवेश गरेदेखि खशोग्जी बेपत्ता भएका थिए।

अमेरिकी विदेश मन्त्रालयमा आयोजित एउटा पत्रकार सम्मेलनमा विदेशमन्त्री पोम्पेओले आफू र राष्ट्रपति ट्रम्प ‘परिस्थितिलाई लिएर खुशी नरहेको’ बताए। उनले भने, “हामी यो कुरा प्रस्ट पार्न चाहन्छौँ कि हिंसाको माध्यमबाट एकजना पत्रकारको मुख थुन्ने बर्बर कृत्य अमेरिकालाई सह्य हुँदैन।”

साउदी युवराज मोहम्मद बिन सलमानले घटनाबारे जे विवरण दिन्छन्, के अमेरिकाले त्यो स्वीकार्ने छ भन्ने जिज्ञासामा पोम्पेओले भने, “अमेरिकाले जे पत्ता लगाउँछ त्यसलाई हामीले स्वीकार्नेछौँ।”

“हाम्रो आफ्नै बुझाइका लागि विश्वभरि हाम्रा मान्छेले काम गर्छन्। हामी आफैँ तथ्य सङ्कलन गर्छौँ। हामी आफैँले तथ्यहरू थाहा पाउनेछौँ।”

यसअघि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले मङ्गलवार आफ्ना पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै खशोग्जीलाई मार्ने योजना निकै दिन अगाडि नै भएको हुनुपर्ने बताएका थिए।

उनले खशोग्जीको नियोजित र ‘क्रुर’ हत्या भएको पुष्टि गर्ने टर्कीसँग बलियो प्रमाण रहेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed