![]()
एजेन्सी । चिनियाँ सामाजिक सञ्जालका एपले बिरलै आफ्नो घरेलु प्रयोगकर्ताभन्दा बाहिर लोकप्रियता हासिल गरेको इतिहास छ । यो परिस्थितिलाई बदल्दै छ टिकटकले । दुई वर्षको समयमा यो एपका आधा अर्बभन्दा बढी प्रयोगकर्ता भइसकेका छन् । जसमध्ये ४० प्रतिशत चीनबाहिरका रहेका छन् ।
यस एपबाट प्रयोगकर्ताहरुले लिप सिङ्क गर्दै आफू नाचेको, अभिनय गरेको वा रमाइलो गरेको भिडियोहरु सेयर गर्ने गर्नेछन् । बेइजिङमा रहेको स्टार्टअप बाइटडान्सले शुरु गरेको टिकटक एपले चीनका अन्य स्थापित सोसल मिडिया प्लाटफर्म जस्तै, टेनसेन्टको विच्याट, सिना वेइवो र अलिबाबाको योउकुलाई पनि पछि पार्न सफल भएको छ ।
‘फेसबुक, ट्वीटर र स्नापच्याट जस्ता विदेशी कम्पनीका प्लाटफर्महरुले सामाजिक सञ्जालमा अधिपत्य जमाइरहेको अवस्था बाइटडान्सको यो एपले आफूलाई भिन्नरुपमा उभ्याउन सफल भएको छ,’ एनालाइटिक फर्म सेनसर टावरमा मोबाइल इन्साइटका प्रमुख र्यान्डी नेलसन भन्छन् ।
सामाजिक भिडियो एपले यो वर्ष झनै लोकप्रियता हासिल गर्न सफल रह्यो । सेन्सर टावरका अनुसार विश्वभर डाउनलोड भएका शीर्ष १० एप मध्ये तीन सामाजिक सञ्जालको भिडियो एप थियो । त्यसमध्ये दुईवटा बाइटडान्सको टिकटक र भिगो थियो । अर्को थियो, फेसबुकको इन्सटाग्राम ।
बाइटडान्सको सफलताले ठूला बाइटडान्सले ठूला लगानीकर्ताहरु आकर्षित गरिरहेको छ । पछिल्लो समय टेक किङमेकर सफ्टबैंकले लगानीको लागि छलफल गरिरहेको छ । यसपछि कम्पनीको मूल्य ७५ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । जबकी पछिल्लो वर्ष यसको मूल्य करिब २० अर्ब डलर मात्र थियो ।
यसो भएको खण्डमा उबरसँगै बाइटडान्स विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअप हुनेछ ।


