![]()
बीबीसी । साउदी पत्रकार जमाल खसोज्जीको हत्याका सम्बन्धमा आफूहरुसँग भएका सबै जानकारी सार्वजनिक गर्ने टर्कीले बताएको छ । गत अक्टोबर २ मा टर्कीको ईस्तानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पसेपछि बेपत्ता भएका पत्रकार खाशोज्जीको मृत्यु भएको साउदी अरेबियाले स्वीकार गरेपछि टर्कीले सबै जानकारी सार्वजनिक गर्ने बताएको हो ।
साउदी अरेबियाले पत्रकार खाशोज्जीको कन्सुलर कार्यालयमा भएको झडपमा मृत्यु भएको हिजो मात्रै स्विकारेको थियो । यसअघि उसले पत्रकार खाशोज्जीको अवस्थाका बारेमा कुनै जानकारी नरहेको बताउँदै आएको थियो ।
अमेरिकी पत्रिका द वासिंगटन पोस्टका लागि लेख्ने पत्रकार खाशोज्जी बेपत्ता भएसँगै दुई मित्र शक्ति अमेरिका तथा साउदी अरेबियाबिचको सम्बन्धमा पनि तनाव आएको छ । यता टर्कीले भने लगातार पत्रकार खाशोज्जीको कन्सुलर कार्यालयमै हत्या भएको र त्यसको अडियो तथा भिडियो प्रमाण आफूहरुसँग रहेको बताउँदै आएको छ ।
अब उसले आफुसँग रहेको भनिएको अडियो तथा भिडियो प्रमाण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । घटनालाई ढाकछोप हुन नदिने टर्कीको सत्तारुढ पार्टीका प्रवक्ताले बताएका छन् । अमेरिका र साउदी अरेबिया मिलेर खाशोज्जी घटनामा मध्यमार्गी बाटो निकालेर घटनाको सत्यमा ढाकछोप गर्ने प्रयास गरेको आरोप छ ।


