![]()
अछाम । अछाममा ७ वर्षीया बालिका बलातकृत भएकी छन् भने १४ वर्षीया अर्की बालिकामाथि बलात्कारको प्रयास भएको छ । यी दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले कमलबजार नगरपालिका–५ का १८ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । यी दुवै बलात्कारका घटनामा आफू संलग्न भएको ती युवकले स्वीकारेको प्रहरीले दाबी गरेको छ।
कार्तिक २ गते बिहान १० बजेतिर १४ वर्षीय बालिका भेरीछाडा नवाशैन जंगलमा गाई–बाख्रा हेर्न गएको मौका छोपी आरोपी युवकले करणी गर्ने उद्देश्यले हातपात गर्न खोजेको प्रहरीले बताएको छ। उनी भाग्न सफल भई घरमा आएर सो कुरा बताएपछि ७ वर्षीया बालिकालाई समेत असोज ३ गते दिउँसो सोही वनको नवाशैन खोलामा जबरजस्ती करणी गरेको खुलेको हो।
युवकले आफ्नो हातमा लगाएको घडी ७ वर्षीया बालिकालाई दिई ललाईफकाई जबरजस्ती करणी गरेको बालिकाका बुवाले प्रहरीलाई बताएका छन्। ललाईफकाई गरेको कुरा कसैलाई भने मारी दिने धम्की दिएकोले छोरीले डरले कसैलाई खबर नगरेको पीडित बालिकाको बुवाले बताए।


