Breaking News.... EverestOnlineKhabar
May 2, 2026

दूतावासभित्रै खशोग्गीको मृत्यु भएको साउदीद्वारा पुष्टि

Loading

बीबीसी । साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको अक्टोबर २ मा इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै मृत्यु भएको पुष्टि गरेको छ। खशोग्गी र वाणिज्य दूतावासभित्र उनले भेटेका मानिसहरूबीच भएको झगडाले मृत्युको घटना निम्त्याएको साउदी सरकारी सञ्चारमाध्यमले जनाएको छ।

अक्टोबर २ मा साउदी वाणिज्य दूतावास गएदेखि पत्रकार खशोग्गी बेपत्ता भएका थिए। खशोग्गीको मृत्यु भएको पुष्टि भएसँगै एकजना उच्च गुप्तचर अधिकारी अहमद अल-असिरी र राजपरिवारका एकजना वरिष्ठ सल्लाहकार साउद अल-कतानीलाई बर्खास्त गरिएको छ।

त्यस्तै १८ जनालाई गिरफ्तार गरिएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ। साउदी राजा सलमानले टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनसँग घटनाबारे टेलिफोन वार्ता गरेपछि साउदी सरकारी सञ्चारमाध्यममा खशोग्गीको मृत्युबारे समाचार आएको हो।

राजा सलमानले देशको गुप्तचर निकायको पुनर्संरचनाका लागि सुझाव दिन भन्दै राजकुमार मोहम्मद बिन सलमानको संयोजकत्वमा एउटा मन्त्रालयस्तरीय समिति गठन गर्न आदेश समेत दिएका छन्। यसअघि खशोग्गी वाणिज्य दूतावासभित्रै मारिएको भन्ने टर्कीको दावी रियादले अस्वीकार गर्दै आएको थियो।

पत्रकार बेपत्ता प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन रियादले आफ्ना निकट साझेदार मुलुकबाटै चर्को दबाब झेल्दै आएको थियो। ब्रिटेन, फ्रान्ससहित कतिपय मुलुकले रियादमा हुने एउटा लगानी सम्मेलन सोही प्रकरणलाई लिएर बहिष्कार गर्ने बताइसकेका छन्।

हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खशोग्गीको हत्या साउदी अरेबियाले गराएको पुष्टि भए उसलाई ‘दण्डित गर्ने’ बताएका थिए। अंकाराले खशोग्गीलाई वाणिज्य दूतावासभित्रै मारिएको कुराको आफूसँग श्रव्य र दृश्य प्रमाण रहेको बताउँदै आएको छ। यद्यपि उसले भन्ने गरेका प्रमाण अहिलेसम्म सार्वजनिक गरेको छैन।

कतिपयले ठूलो शक्तिको अभ्यास गर्दै आएका साउदी राजकुमार मोहम्मदकै निर्देशनमा खशोग्गीको हत्या गरिएको आरोप लगाउँदै आएका छन्। खशोग्गी खासगरी राजकुमार मोहम्मदका कतिपय नीतिका कटु आलोचक रहिआएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed