![]()
बीबीसी । विश्व बैंकले प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति व्यहोरेको इन्डोनेसियाका लागि एक अर्ब अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । हालैमात्र सुलावेसी द्वीपको पालु शहरमा भूकम्प र सुनामीबाट २ हजारभन्दा बढी मानिसको मृत्यु हुनुका साथै हजारौं व्यक्ति बेपत्ता भएका छन् ।
इन्डोनेसियाको बालीमा हाल अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकको संयुक्त वार्षिक बैठक चलिरहेको छ । बैंकले उपलब्ध गराउने ऋण पुनर्निर्माणका लागि प्रयोग गर्न सकिने छ । साथै उक्त रकमलाई पुनरुद्धारका कार्यहरु सञ्चालन गर्न तथा आगामी दिनमा प्राकृतिक विपदाबाट मानिसलाई सुरक्षित गर्ने उपायको खोजी गर्न र पूर्व तयारी गर्न खर्च गरिनेछ ।
पालुको भूकम्प र सुनामीबाट करिब ९० हजार विस्थापित भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार विस्थापितलाई स्थायी बसोबासको व्यवस्था गर्न कम्तीमा दुई वर्ष लाग्नेछ ।
दातृ निकायहरुले करिब २ लाख मानिसलाई सफा खानेपानी र औषधि उपचारको सख्त जरुरी भएको बताएका छन् । स्थानीयबासीका लागि सहयोग जुट्नेक्रम बढेपनि लक्षित समुदायसम्म पुग्न कठिनाइ भइरहेको छ ।


