![]()
एजेन्सी । आर्सनलका पूर्व फरवार्ड थिएरी अनरीले २०२१ सम्म फ्रान्सेली क्लब मोनाकोमा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् । बेल्जियम राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकका रूपमा काम गरेका अनरीले मोनाकोबाटै व्यावसायिक करियर सुरू गरेका थिए ।
उनले १९९७ मा मोनाकोलाई फ्रेन्च लिग वानको उपाधि जिताउन सहयोग गरेका थिए । पुछारबाट तेस्रो स्थानमा रहेको मोनाकोले बिहिवारमात्रै प्रशिक्षक लियोनार्दो जर्डिमलाई बर्खास्त गरेको थियो ।
“यो क्लबबाट प्रशिक्षक करियर शुरू गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु,” आर्सनलमा कीर्तिमानी गोल गरेका अनरीले भने । युभेन्टस, बार्सिलोना, न्युयोर्क रेडबुलबाट खेलिसकेका अनरी पछिल्लो समय एष्टन भिल्लासँग पनि जोडिएका थिए ।
“मोनाकोप्रति मेरो मनमा अर्कै भावना आउँछ,” फ्रान्सका पूर्व फरवार्ड अनरीले थपे, “यस्तो मौका पाउँदा म धेरै उत्साहित छु । तर यो कडा मिहिनेत गर्ने समय हो ।” लिग वानको ९ मध्ये ५ खेलमा पराजित भएको मोनाकोले ६ अंकमात्र जोडेको छ । मोनाकोले अब लिग तथा च्याम्पियन्स लिगको दुबै खेल घरेलु मैदानमा खेल्नेछ । लिगमा प्रशिक्षकका रूपमा अनरीले पहिलो खेल अक्टोबर २० मा स्टार्सबर्गविरूद्ध खेल्नेछन् । त्यसको चार दिनपछि मोनाकोले च्याम्पियन्स लिगमा क्लब बर्गसँग प्रतिस्पर्धा गर्नेछ ।


