![]()
काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले देश विखण्डनको नारा लिएर अगाडि बढेकाहरुको गतिविधि नियालिरहेको बताएका छन् । जंगी अड्डामा आयोजित ‘प्रधानसेनापति–पत्रकार अन्तरक्रिया कार्यक्रम’मा बोल्दै थापाले भने, ‘विखण्डनवादीको गतिविधिबाट हुनसक्ने खतराप्रति नेपाली सेना सचेत छ, सम्भावित सुरक्षा चुनौती सामना गर्न नेपाली सेना तयार छ ।’
वर्तमान शान्तिकालीन परिवेशमा विखण्डनकारी शक्तिहरुलाई राज्यका अन्य सुरक्षा निकायले कानुनी दायरामा ल्याइरहेको उल्लेख गर्दै थापाले अहिले त्यस्ता शक्ति नेपाली सेनाको डोमेनमा नपर्ने भएपनि उनीहरुको गतिविधि भने सुक्ष्म ढंगले नियालिरहेको दाबी गरे ।
प्रधानसेनापति थापाले नेपाली सेनाभित्र भ्रष्टाचार नियन्त्रणको लागि संयन्त्र भएको बताए । उनले भने, ‘नेपाली सेनाको एकल प्रयासले भ्रष्टाचार नियन्त्रण सम्भव छैन । भर्ना छनोट र मिसनमा भएको भनिएको अनियमितताबारे छानबिन भइरहेको छ ।’
काठमाडौं–तराई–मधेश द्रूतमार्ग समयमै निर्माण गर्ने चुनौती नेपाली सेनाको सामुन्ने रहेको उल्लेख गर्दै प्रधानसेनापति थापाले द्रूतमार्ग निर्माणको क्रममा सांस्कृतिक सम्पदा नष्ट नगरिने स्पष्ट पारेका छन् ।
विकास निर्माण नेपाली सेनालाई सरकारले दिएको जिम्मेवारी भएपनि त्यस्तो जिम्मेवारी बहन गर्दैगर्दा सेनाको व्यवसायिकतासँग जोडेर विवादमा तान्ने गरिएकोबारे प्रधानसेनापति थापाले असन्तुष्टि जनाए ।


