![]()
काठमाडौं । सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक (तलब) २५ प्रतिशतले बढाएर मासिक २४ हजार ३ सय ७५ रुपैयाँ पुर्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार सिंहदरबारमा बसेको बैठकले हाल पाइरहेको न्यनूतम पारिश्रमिक १९ हजार ५ सय रुपैयाँमा २५ प्रतिशत (४ हजार ८ सय ७५ रुपैयाँ) वृद्धि गरी २४ हजार ३ सय ७५ पुर्याउने निर्णय भएको हो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको मासिक पारिश्रमिक न्यूनतम २९ हजार ५ सय रुपैयाँ पुर्याउन सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सरकारले भने समितिको सिफारिसभन्दा ५ हजार १ सय २५ रुपैयाँ कम दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार वृद्धि गर्ने निर्णय गरिएको पत्रकारको न्यूनतम पारिश्रमिक आगामी कात्तिक महिनाबाट लागु हुनेछ ।
पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले भने पत्रकारको न्यूनतम पारिश्रमिक मासिक ४० हजार रुपैयाँ हुनुपर्ने ‘लबिङ’ गर्दै आएको छ ।


