![]()
बागलुङ । सुरक्षा निगरानीका लागि बागलुङ बजारमा जडान गरिएका २९ मध्ये १६ ‘सीसी क्यामेरा’ बिग्रिएका छन् । पाँचवटा विद्युत् आपूर्ति नहुँदा प्रयोगबिहीन अवस्थामा छन् । बाँकी आठ चले पनि भरपर्दा छैनन् ।
विसं २०७१ फागुनमा बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्यालय मिलेर सीसी क्यामेरा जडान गरेका थिए । लाखौँ रुपैयाँ खर्चेर जडान गरिए पनि मर्मत र संरक्षण अभावमा सीसी क्यामेरा प्रयोगबिहीन बनेका हुन् ।
मुख्य सडक, चोक र बजार प्रवेश क्षेत्रमा राखिएका क्यामेरा बिग्रिएर काम नलाग्ने भएपछि सुरक्षा चुनौती थपिएको छ । सामाजिक सुव्यवस्था, सडक सुरक्षा र अपराध नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले क्यामेरा जडान गरिएको थियो ।
समीक्षालय चोकको दुई, हल्लन चोकको दुई, अदालत चोकको एक, लोकतान्त्रिक चोकको दुई, धवलागिरि चोकको एक, जीप पार्कको दुई, श्रीनगर टोलको एक, शिवधारा चोकको दुई, लालीगुराँस चोकको दुई र देउराली चोकमा जडान गरिएको क्यामेरा बिग्रिएको हो ।
बजेट अभावमा क्यामेरा मर्मत हुन नसकेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जयराम भारीले बताउनुभयो । मर्मतमा करीब रु तीन लाख ५० हजार खर्च लाग्ने जनाइएको छ । नगरपालिकाले क्यामेरा नियमित सञ्चालनका लागि सहयोग उपलब्ध नगराएको सङ्घको गुनासो छ ।


