![]()
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले मानव स्वास्थ्यमा असर पार्ने खालका बस्तु मिसावट भएको पाइएपछि गौशालास्थित व्यञ्जन मिठाई पसल र अन्नपूर्ण मिठाई पसलमा शिलबन्दी गरेको हो।
झिंगा, साङलाजस्ता मानव स्वास्थ्यमा नोक्सान पुर्याउने खालका बस्तुहरु मिसावट भएको पाइएपछि दुवै मिठाई पसल शिलबन्दी गर्नु परेको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए। विभागले यसअघि नयाँ बानेश्वरस्थित संगम मिठाई पसलमा पनि अखाद्य बस्तु मिसावट भएको पाइएपछि शिलबन्दी गरेको थियो। खाद्य अनुसन्धान अधिकृत सुवेदीले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने खालका मिसावट गर्ने उत्पादन, विक्री वितरण केन्द्रमा शिलबन्दी गरी कडा कार्वाही गर्ने चेतावनी पनि दिए।
विभागले अनुगमनको क्रममा दुवै मिठाई पसलबाट साङला, झिंगा लगायतका बस्तु मिसिएको करिव १ सय २० केजी मिठाईलगायतका बस्तुहरुको नष्ट पनि गरेको छ। दुवै पसललाई खाद्य ऐन अन्तरगत कार्वाही हुने पनि विभागले स्पष्ट पारेको छ। खाद्य ऐन अनुसार गुणस्तरहिन खाद्य बस्तु उत्पादन, विक्रि वितरण गर्नेमाथि कम्तीमा ५० हजार जरिवाना र ५ वर्ष कैद सजाय दिने व्यवस्था गरिएको छ।


