![]()
बीबीसी । मलेशियामा एउटा खानीमा भएको पोखरीमा हराएका एक किशोरको उद्धार गर्न गएका छ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ। साथीहरूसँग माछा मार्न गएका ती १७ वर्षीय किशोर पोखरीमा खसेपछि उनको खोजी गर्न उद्धारकर्मीहरू परिचालित थिए।
अधिकारीहरूका अनुसार उद्धारकर्मीहरू पोखरीभित्र एउटा भुमरीमा फसेका र अकस्मात् शक्तिशाली जलप्रवाहले उनीहरूका उपकरणलाई छुट्टाइदिएको थियो। हराएका किशोरको खोजी अभियान फेरि थालिएको छ।
उक्त घटना सेलाङ्गोर प्रान्तको सेपाङ जिल्लामा भएको हो। विवरणहरूका अनुसार माछा मार्न सुरु गर्न लाग्दा ती किशोर पोखरीमा खसेका थिए। ती उद्धारकर्मीहरूले सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गरेको सेपाङका प्रहरी प्रमुख अब्दुल अजिज अलीले बताए।
शक्तिशाली जलप्रवाहले सबै उद्धारकर्मीलाई पानीमा फन्फनी घुमाइदिएको उनले मलेशियाको सरकारी समाचार संस्था बेर्नामालाई बताएका छन्। त्यसो हुँदा उनीहरूले बोकेका उपकरणहरू छुट्टिएका थिए।
अग्निनियन्त्रण र उद्धार विभागका महानिर्देशक मोहम्मद हम्दान वाहिदलाई उद्धृत गर्दै न्यू स्ट्रेट टाइम्स पत्रिकाले लेखेको छ, “त्यहाँ भुमरी परेको थियो र उद्धारकर्मीहरूले त्यसबाट उम्कन सङ्घर्ष गरेको देखिएको किनारामा रहेको टोलीले बताएको छ।”
ती उद्धारकर्मीहरू ३० मिनेटजति भुमरीमा फसेका थिए। अरू सहकर्मीले बाहिर निकाल्दा उनीहरू सबै अचेत थिए। कृत्रिम श्वासप्रश्वास गर्दा पनि उनीहरू बौरिएनन्।


