Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौँ। संघीय स‌ंसदकाे प्रतिनिधि सभा अन्तरगतकाे सार्वजनिक लेखा समितिले दशैँका लागि अतिआवश्यक वस्तुहरुमा गरिएको अस्वभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको सिंहदरबारमा बसेको बैठकले चिनी, चामल, तेललगायतका अतिआवश्यकीय वस्तुमा अस्वभाविक मूल्यवृद्धि गरिएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो। दशैँको मुखैमा अति आवश्यकीय वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि गरेकाले त्यसलाई नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए।

बैठकले कालोबजारी हुन नदिन अनुगमनको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ। समितिले दशैँमा बस टिकटमा कृतिम अभाव सृजना गर्न खोजिएको उल्लेख गर्दै त्यस्ता व्यवसायीलाई पहिचान गरी कडा कारबाही गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको छ।

यात्रुहरुलाई सहज ढंगले यात्रा गर्न पाउने गरी दशैँमा सवारी साधनको उचित व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइएको सभापति शाहले जानकारी दिए।

बैठकमा समितिका सदस्यहरुले व्यवसायीहरुले सरकारलाई समेत झुक्याएर चिनीको मूल्यवृद्धि गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। समितिका सदस्य विरोध खतिवडाले आयातमा रोक लगाएर चिनीको मूल्य वृद्धि गरिएकोमा आपत्ति जनाए । उनले उखु किसानहरुको बक्यौता रकम तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed