![]()
काठमाडौं । नेकपाका नेताहरुमा धैर्यता र शहनशक्ति शून्य देखिएको छ । एक अर्काबिरुद्ध तुरुन्त खनिने, प्रतिक्रिया दिइहाल्ने, खण्डन गरिहाल्ने, सामाजिक संजालमा टिप्पणी गरिहाल्ने प्रवृति केवल कार्यकर्तामा मात्र होइन स्वयं अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालमा पनि छ ।
केही दिनयताकै घटनाक्रमलाई हेरौं । वरिष्ठ नेता माधव नेपालले प्रतिनिधिसभामा भावुक सम्बोधन गर्दै देश डुब्न लाग्यो, कोही माझी आइ तारीदेऊ भन्दै गीत गाए । लगत्तै दोस्रो दिन अमेरिकामा रहेका प्रधानमन्त्री एवम पार्टी अध्यक्ष ओलीले त्यसको जवाफ दिन भ्याए । म केही दिन नहुँदा डुब्ने होइन, आउँदैछु भन्दै उनले ब्यङग्यात्मक जवाफ फर्काएका हुन ।
नेता नेपालले संसदमा बोलेका कुराको आशय के हो, कुन सन्दर्भमा बोलेका हुन भन्ने कुरा बुझदै नबुझी तात्तातो प्रतिक्रिया उनले जनाइ हाले । यति मात्र होइन प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल र योगेश भट्टराईबीच त ट्वीटरमा दोहरी नै चलेको छ । यो दोहरी अहिले भाइरल भएको छ । रिमालले आफनालाई ढाल्न परायसंग सल्लाह गरेर कोही पतन हुन थालेको भन्दै नेता नेपालप्रति कटाक्ष गरेका थिए ।

रिमालको ट्वीट आए लगत्तै भट्टराईले पनि सत्ता र शक्तिको मात लागेको भन्दै रिमाललाई जवाफ फकाई हाले । यी दुई नेताबीच प्रतिनिधिसभाको चुनावको समयमा पनि यस्तै दोहरी चलेको थियो ।

यी त सामान्य उदाहरण मात्र हुन । नेकपामा प्रवक्ताको जिम्मेवारी पाएका नारायणकाजी श्रेष्ठ अहिले प्रवक्ता छन कि छैनन ? यसको जवाफ स्वयं त्यो पार्टीसंग पनि छैन । उनले राजीनामा दिएपछि त्यस सम्बन्धी कुनै नयाँ निर्णय आएको छैन । डा. गोविन्द केसीसंग भेटघाट गरेको भन्दै उनलाई सचिवालय बैठकमा अध्यक्ष ओली र प्रचण्डले उनको हुर्मत लिने प्रयास गरेका थिए । धन्न तपाईको प्रवक्ता पद तपाई नै राख्नुस भनेर राजीनामा दिइ श्रेष्ठ आफनो इज्जत जोगाउन सफल भए ।
पूर्व प्रधानमन्त्री एवम पार्टीका वरिष्ठ नेता झलनाथ खनाल आफूमाथि अन्याय भएको भन्दै करायको करायै छन । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावलका असन्तुष्टि र आक्रोश सार्वजनिकरुपमा सुन्न पाइएकै छ । गृहमन्त्री रामबहादुर थापाको कार्यशैलीप्रति प्रश्न उठाउँदै पूर्व गृहमन्त्री भीम रावलले दर्जनौ भाषण गरिसके । यता, बामदेव गौतमलाई सांसद बन्नैपर्ने छ । यसका लागि उनी अथक प्रयास गर्दैछन तर उनलाई सुताउन अध्यक्ष ओली र प्रचण्ड भित्रैदेखि लागेका छन । गौतम सांसद बनेर आए पार्टी र सरकारको नेतृत्वमा आफूलाई चुनौती हुने उनीहरुले राम्ररी बुझेका छन । यसले पनि माधव नेपालको चियापान जमघटमा उपस्थित भएर गौतमले ओली र प्रचण्डप्रतिको तीतो सार्वजनिक गरेका हुन ।
नेकपाका सांसद तथा प्रचण्डको बिश्वास पात्र अग्नि सापकोटा सरकारका मन्त्रीहरुको कार्यशैलीबाट सन्तुष्ट छैनन । सरकारको पर्फमेन्स बढाउने हो भने मन्त्री फेर्नुपर्ने लाइनमा उनी छन । उनी जस्तै जर्नादन शर्मा लगायतका नेताहरुको दबाब बढेपछि प्रचण्ड पनि मन्त्री फेर्नुपर्ने कुरामा लगभग सहमत भएका छन । यो बिषयमा प्रधानमन्त्री ओलीसंग गम्भीर कुरा गर्ने भनेपनि उनले साहस जुटाउन सकेका छैनन । भेट हुँदा कुरा नउठाउने, बाहिरबाहिर सरकारबिरोधी भाषण गर्नुले उनको धैर्यताको बाँध पनि टुटन थालेको प्रतीत हुन्छ ।
प्रमुख प्रतिपक्षी कांग्रेस शक्तिशाली हुन नसकेको चर्चा भैरहेकाबेला स्वयं सत्तारुढ दल भित्रको किचलोले सरकार अफ्ठ्यारोमा परेको छ । कतिपयले सरकार ढाल्ने खेल समेत सुरु गरेका छन । यो कुराको खुलासा गृहमन्त्री रामबहादुर थापाले गरिसकेका छन । उनीपनि आफनो काम भन्दा आफनो आलोचना गर्नेहरुलाई जवाफ दिन तल्लिन देखिन्छन ।
नेकपाका नेताहरु यसरी हतासिनुको एउटा प्रमुख कारण प्रधानमन्त्री ओली आफै हुन । उनले सरकारको बिरोध गर्नेहरुमाथि अरिङ्गाल जस्तै आक्रमण गर्न निर्देशन दिएपछि सकि नसकी सो पार्टीका नेता कार्यकर्ता सरकारको प्रतिरक्षामा उत्रिरहेका छन । राष्ट्रियसभा तथा प्रतिनिधिसभा बैठकमा सांसदहरुका बेतुकका भाषण पनि यसरी नै आउने गरेका छन । अझ आफ्नै पार्टीका नेता कार्यकर्ताको आलोचनामै सिमित भएर समय खर्चिनु नेकपालाई आत्मघाती हुनसक्छ । यसले पार्टी भित्र एकता हुन बिग्रहको आगो नराम्ररी फैलिएको प्रष्ट हुन्छ । यो आगोले जलेको मनलाई शान्त बनाउन नेताहरु जति आरोप प्रत्यारोपमा उत्रिनेछन, नेकपा त्यति नै खरानी हुँदै जानेछ ।


