![]()
काठमाडौं। तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदा तीन महिनाभित्र सबै तहका कमिटीहरुको एकता गर्ने घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को तल्लो तहको एकता अझै टुंगिन सकेको छैन। पार्टी एकता गर्न गठन भएका कतिपय कार्यदलले अझै प्रतिवेदन बुझाउन सकेका छैनन्। प्रदेशका अधिकांश कार्यदलले प्रतिवेदन बुझाए पनि नेतृत्वको विवाद एकता अझै अन्यौलमा छ।
पार्टी सचिवालयले तल्ला तहको एकता भदौ ५ गते गर्ने निर्देशन दिएको थियो। साउन १५ गते सबै कार्यदललाई प्रतिवेदन बुझाएर पाँच गते पार्टी एकता र भदौ १५ गते एकतापछि पहिलो बैठक बस्ने गरी निर्देशन दिइएको थियो। यसरी दिइएको समयसीमा कटेर दुई दिन वितेको छ। तर बैठक त परै जाओस एकतासमेत हुन सकेको छैन।
कार्यदलले बुझाएका प्रतिवेदनमाथि छलफल गर्न बस्ने भनिएको स्थायी समितिको बैठक पनि सर्दै आएको छ। प्रतिवेदनमाथि एकमत नहुँदा बैठक पनि सर्दै आएको छ। नेताहरुले प्राविधिक कारण भन्दै बैठक बस्न नसकेको बताउँदै आएका छन्।
पछिल्लो समय प्रदेश तथा जिल्ला कमिटी र जनसङ्गठनको एकीकरण प्रक्रिया जटिल बन्दै गएको छ। कार्यदलले गरेको सिफारिसमा तल्ला तहबाट असहमति जनाउँदै पार्टी केन्द्रलाई दबाब सिर्जना भएको छ।


