![]()
एजेन्सी । जीतु राईलाई अहिले ’पेस्तोल किङ्ग’को रूपमा चिनिन्छ । उनले शुटिङमा ठूल्ठूला पदक जितेका छन । १२ वर्षअघि उनी गाउँमा मकै र आलु रोप्थे ।
निशानेबाज जीतु राईले अष्ट्रेलियाको गोल्डकोस्टमा आयोजित १० मिटर एयर पेस्तोल स्पर्धामा नयाँ रेकर्डका साथ स्वर्णपदक जितेका छन् । यसले उनको नेपाल र भारतमा मात्र होइन बिश्वभर चर्चा चुलिएको छ ।
शुटिङसँग जीतुको कुनै सम्बन्ध थिएन। दुर्गम संखुवासभाको गाउँमा भैँसी र बाख्रा गोठमा उनको समय बित्ने गर्थ्यो। उनका बुवाले भारतीय सेनामा सेवा गर्दा भारतको तर्फबाट चीन र पाकिस्ताविरूद्ध लडाइँ गरेका थिए। बावुको बिँडो थाम्न भारतीय सेनामा भर्ती हुँदा उनी २० वर्षका थिए।
भारतीय सेनाले जस्तै ब्रिटिश शाही सेनाले पनि हरेक वर्ष गोरखा रेजिमेण्टका लागि नेपाली युवा भर्ती गर्ने गर्छ। उनको इच्छा ब्रिटिश सेनामा भर्ती हुने थियो। तर आवेदनका लागि केही समय कुर्नुपर्ने भयो। त्यही बेला भारतीय सेनामा भर्ती खुलेकाले उनले त्यतै आवेदन दिए। र, उनी छानिए पनि।
एउटा सन्धिअनुसार गोरखा रेजिमेण्टका लागि नेपाली युवालाई भारतीय सेनाले भर्ती गर्ने गर्दछ। हुन त जीतुको निशाना राम्रै थियो तर लखनऊमा कार्यरत रहेका बेला जीतुलाई शुटिङ कत्ति पनि मन परेको थिएन। त्यो देखेर सैनिक अधिकारीहरूले जीतुलाई मऊस्थित सेनाको ’मार्क्सम्यान युनिट’मा पठाइदिए। तर लगातार दुई वर्ष अनुत्तीर्ण भएपछि नायब सुबेदार जीतुलाई त्यहाँबाट फिर्ता पठाइयो। त्यसपछि उनको जिन्दगीले अर्को मोड लियो। शुटिङमा उनले कडा मेहनत गर्न शुरू गरे।
भारतीय सेनामा रही सन् २०१३ देखि जीतु अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन थाले र एक वर्ष्भित्रै विश्वभरि उनको चर्चा हुन थाल्यो। लखनऊमा आधार बनाएका जीतुले सन् २०१४ मा ’कमन्वेल्थ गेम्स’ मा पेस्तोलतर्फको ५० मिटरको शुटिङमा स्वर्ण पदक जिते। सोही वर्ष एसियाली खेलकुदमा भारतलाई पहिलो स्वर्ण पदक जीतुले नै दिलाए। सन् २०१४ मै जीतुले शुटिङमा नौ दिनभित्र तीनवटा विश्वकप जितेर कीर्तिमान बनाए। त्यसभित्र १० मिटर एयर पेस्तोलमा स्वर्ण र ५० मिटरतर्फ रजत पदक पर्दछ।
यी सजिलै पाइएका उपलब्धि थिएनन्। सन् २०१६ को ओलिम्पिक्समा पदक जित्न नसक्नु उनको खेलजीवनको सबैभन्दा कठिन समय रह्यो।
सन् २०१८ मा उनले सुखद पुनरागमन गरे। मेक्सिकोमा भएको विश्वकपमा जीतुले कास्य पदक जिते। त्यसो त आफ्नो छोरोले यसरी पदकहरू जितेको खबरबाट जीतुको परिवार अनभिज्ञ रहे। दिल्लीमा जीतुलाई ’अर्जुन पुरस्कार’ दिइँदा बल्ल उनकी आमाले आफ्नो छोरोले ठूलो यश कमाएको भेउ पाइन्। कहिलेकाहीँ दुई दिन पैदल हिँडेरै भए पनि जीतु आफ्नो जन्मस्थल जाने गर्छन्। उनको गाउँसम्म पुग्न हिँड्नुपर्ने बाध्यता अहिले पनि छ।
जीतुको गाउँमा बिजुली पुग्न धेरै समय लाग्यो । यता बिजुलीले गाउँ उज्यालो हुँदा उता गाउँकै छोराले विश्वभरि गाउँको नाम चम्काएका छन्। शुटिङबाहेक जीतुलाई बाल्यकालमा जस्तै भलिबल खेल्न मनपर्छ। र, आमिर खानको चलचित्र हेर्न उनी रुचाउँछन्।


