![]()
काठमाडौं । बाम कार्यदलले आइतबार सातवटै प्रदेशका लागि मुख्यमन्त्री छनोट गर्ने जनाएको छ । राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार निर्माणको गृहकार्य गर्ने जिम्मा पाएको एमाले–माओवादीको संयुक्त कार्यदलले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्री चयनमा ध्यान केन्द्रीत गरेको हो ।
राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनको लागि पुष २५ गते बसेको पार्टी एकता संयोजन समितिको बैठकले संयुक्त कार्यदल बनाएको थियो। कार्यदल सदस्यका अनुसार आईतबार बस्ने बैठकले सम्भबतः प्रदेश सरकार गठनको कुरा टुङ्गो लगाउने सहमति बनेको छ ।
प्रदेश १ र ३ मा एमालेले एकल सरकार बनाउन सक्ने बहुमत छ। प्रदेश ५ मा पनि एमाले स्थायी कमिटि सदस्य शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन माओवादीले सहमति दिएको बुझिएको छ ।
प्रदेश ४ को मुख्यमन्त्रीका लागि एमाले नेताहरुको नाम चर्चामा रहेको छ। माओवादीले २ प्रदेशमा मुख्य मन्त्रीको दावी गरेको छ। प्रदेश ६ र ७ मा माओवादीलाई दिने सम्भावना रहेको छ ।
६ नम्बर एमाले प्रदेश संगठनले माओवादीलाई मुख्यमन्त्री नदिन केन्द्रीय कमिटिलाई दबाब दिएको थियो। यो प्रदेशमा ४० जना प्रदेश सभा सदस्य छन। जसमा २० जना सदस्य एमालेको रहेका छन।
मुख्यमन्त्रीहरुको चयन प्रदेशबाट नटुङ्गिए केन्द्रले टुङ्गो लगाउने छ । प्रदेश २ मा मधेशवादी दलले प्रदेश सरकार गर्ने निश्चित भएसँगै राजपाले मुख्यमन्त्रीमा दाबी गरिसकेको छ।


