![]()
काठमाडौ,माघ ।
विश्वका १०८ देशमध्ये नेपाल भोकमरीको सूचीमा १७औँ स्थानमा रहेको छ । यो सूचीले खतराको सङ्केत त गर्दैन तर अवस्था गम्भीर नै रहेको छ, खाद्य विज्ञ डा. गणपति ओझाले बिहीबार कार्यपत्र प्रस्तुत गर्दै भनेः‘नेपालको यो अवस्थाले खतराको घण्टी त बजाएको छैन तर सचेत हुन आवश्य भनी रहेको छ ।’
राष्ट्रिय योजना आयोगले आयोजना गरेको निजी तथा सार्वजनिक क्षेत्रका विज्ञसँग खाद्य सुरक्षा र पोषण रणनीतिक समीक्षा विषयक कार्यशाला गोष्ठीमा डा. ओझाले नेपालमा २३ लाख मानिस कुपोषणका शिकार भएको र तीमध्ये १७ प्रतिशत महिला नै रहेको बताए । प्रदेशगत आधारमा खाद्य सुरक्षा तथा कुपोषणको हिसाबले सबैभन्दा कमजोर अवस्थामा प्रदेश ६ रहेको छ भने प्रदेश एक, तीन र चार अरू प्रदेशको तुलनामा राम्रो अवस्थामा रहेको उनले बताए ।
देशका एक तिहाई बालबालिकाले मात्र न्यूनतम पोषणयुक्त खाना खाने गरेको, दुई तिहाइ बालबालिकाले पोषणयुक्त खाना नपाएको र सबैभन्दा कम पोषणयुक्त खाना मध्यम परिवारका बालबालिकाले खानेको गरेको उल्लेख गर्दै डा. ओझाले बरू मध्यम परिवारभन्दा गरिब परिवारका बालबालिकाले बढी पोषणयुक्त खाना खाएको एक अध्ययनले देखाएको जनाए ।
धनी परिवारका ५०, गरिब परिवारका ३० र मध्यम परिवारका २३ प्रतिशत बालबालिकाले मात्र पोषणयुक्त खाना खाएको उल्लेख छ ।
मधेसका अधिकांश जिल्लामा उत्पादन भएको खद्यान्नले त्यहीँका जनतालाई नपुगेको उल्लेख गर्दै उनले खाद्यान्नको अभावका कारण भोकमरी र कुपोषण भएको बताए । कुपोषण र भोकमरीबाट बच्न अहिले भइरहेको उत्पादन तथा आम्दानीलाई दोब्बर गर्नुपर्ने उनले सुझाव दिए ।


