![]()
काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ ।
सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन उक्त सेवा शुरु गरिएको कामपाले जनाएको छ । महानगरपालिकाका अनुसार यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउने छन । कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास गर्न शुरु गरेको छ ।
यही माघ ७ गतेदेखि शुरु गरेको उक्त सेवाबाट हालसम्ममा ३८ जना लाभान्वित भइसकेका छन् । यस प्रणालीबाट नक्सा दर्ता गर्ने सेवाग्राहीको मोबाइलमा नक्साको अस्थायी स्वीकृति, भुइँतलासम्मको स्वीकृति (पूरै भवनको), निर्माण सम्पन्न वा कुनै कारणवश नक्सा स्वीकृत गर्न नमिल्ने भए सो सम्वन्धी समेत जानकारी चरणबद्ध रुपमा जान्छ । त्यसका लागि सेवाग्राहीले कामपामा आफ्नो मोबाइल नम्बर दिनुपर्नेछ ।
प्रयोगकर्ताले काठमाडौँ डट जिओभी डट एनपीमा क्लिक गरी नक्सा दर्ता गर्दा प्राप्त भएको रजिस्ट्रेसन नम्बर राखेपछि आफ्नो फाइल कुन टेबलमा पुगेको छ, यसबाट कुन टेबलमा कति समय अड्कियो ? नक्सा पास हुने प्रणालीमा अब कतिवटा टेबलमा पुग्न बाँकी छ, घरमै बसेर हेर्न सकिन्छ ।
यस सेवालाई नागरिकले प्रयोग गर्ने हो भने नक्सा पाससँग सम्बन्धित धेरै गुनासोको सहजै समाधान हुने महानगरपालिकाको बिश्वास छ ।


