![]()
चितवन । चितवन र पर्सामा बाघ गणनाका लागि राखिएका ६७ वटा अत्यधुनिक प्रविधिका क्यामरा हराएका छन् । बाघ आवतजावत गर्दा फोटो खिच्नका लागि राखिएका अत्यधुनिक प्रविधिका स्वचालित क्यामराहरु हराएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार कतिपय क्यामरा मान्छेले चोरेर लगेका छन । कतिपय हात्तीले झिकेर फुटाउने गरेको तथा कतिपय क्यामेरा बाघले समेत लगेको निकुञ्जले जनाएको छ ।
पर्सा क्षेत्रको पहिलो ब्लकमा ३४ वटा क्यामरा हराएको छ । यस्तै दोस्रो ब्लकमा राखिएका क्यामेरामध्ये २६ वटा क्यामरा हराएको र तेस्रो ब्लकमा राखिएका क्यामरामध्ये सातवटा हराइसकेको छ । त्यसमा २५ वटा क्यामरा हात्तीले फुटाएको पाइएको छ । दुईवटा बाघले लगेको बताइएको छ । ४० वटा क्यामरा मानिसले लगेका छन् ।
त्योबाहेक मान्छेले लगेको तीनवटा क्यामरा फिर्ता आएको छ । चितवनको कंकालीमा हराएको एउटा क्यामरा प्रहरीमार्फत फिर्ता आएको छ । बुधबारमात्रै रौतहटमा एउटा क्यामरा फेला परेको थियो । बस्ती नजिक क्यामेरा राखिएकाले बालबालिकाले खेलौना भनेर पनि ल्याएको, कतिपय स्थानीयले नयाँ कुरा देखेर पनि क्यामरा लगेको पाइएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
दुई महिनादेखि नेपाल र भारतमा एकैसाथ सुरु भएको दुर्लभ पाटे बाघको गणना (अनुगमन) अन्तर्गत चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा ब्लक छुट्याएर अनुगमन भइरहेको छ । यहाँ करिब ६०० वटा क्यामरा प्रयोग भएका छन् ।
अत्यधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना भइरहेको छ । मंसिर १४ गतेबाट बाघ गणना थालिएको थियो ।


