![]()
एजेन्सी । युक्रेनकी खेलाडी मार्टा कोस्ट्युक ग्राण्डस्लाम टेनिसको तेस्रो चरणमा पुग्ने सबैभन्दा कम उमेरकी महिला खेलाडी बनेकी छिन् । अष्ट्रेलियन ओपनको दोस्रो चरणमा घरेलु खेलाडी ओलिभिया रोगोवस्कालाई पराजित गर्दै कोस्ट्युकले कम उमेरमा ग्राण्डस्लामको तेस्रो चरण पुग्ने खेलाडीको किर्तिमान कायम गरेकी हुन् ।
मेलबर्नमा जारी सिजनको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपन खेलिरहदा मात्र १५ बर्षकी कोस्ट्युकले अष्ट्रेलियाकी रोगोवस्कालाई ६ – ३ र ७ – ५ ले पराजित गरिन् । योसँगै कोस्ट्युक सन् १९९७ पछि कुनैपनि ग्राण्डस्लाम प्रतियोगिताको तेस्रो चरणमा पुग्ने कम उमेरकी पहिलो खेलाडी बनिन् । यसअघि सन् १९९७ मा क्रोएसियाकी मिर्जना बार्लोनीले युएस ओपनमा कम उमेरमा तेस्रो चरणमा पुगेर यो किर्तिमान बनाएकी थिइन् ।
विश्व बरियतामा ५२१ औं स्थानकी कोस्ट्युकले अब आफ्नै देशकी चौथो बरियता प्राप्त एलिना स्विटोलिनासँग खेल्ने छिन् ।


