![]()
काठमाडौ,पुस ।
निर्वाचन सम्पन्न भएको झण्डै एक महिना वितिसक्दा पनि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सकेको छैन।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्ने विषयमा राजनीतिक सहमति जुटाउने प्रयास गरे पनि एमाले र माओवादीले सरकारको प्रस्ताव अस्वीकार गर्दै आएका छन्। यी दलले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जिम्मेवारी संविधानले वर्तमान सरकारलाई दिएको भनेर पन्छिँदै आएका छन्।
सर्वदलीय सहमति जुटाउने प्रधानमन्त्री देउवाको प्रयास असफल भएपछि प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ भएको हो। कृषिमन्त्री रामकृष्ण यादवले राजनीतिक सहमति जुटाउन प्रयास गर्दा प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ भएको स्वीकार गरे। सरकारले प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ गर्दा राष्ट्रियसभा निर्वाचनको कार्यतालिका प्रभावित हुने देखिएको छ। राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुँदै छ। सरकारले नियुक्तिमा ढिलाइ गर्दा निर्वाचन आयोगले पटक–पटक प्रधानमन्त्री देउवाको ध्यानकर्षण गराउँदै आएको छ। आयोगले पत्र नै लेखेर प्रदेश प्रमुख नियुक्ति चाँडै गर्न सरकारलाई आग्रह गर्दै आएको छ।
प्रदेश प्रमुख नहुँदा आयोगले प्रदेशसभाका सांसदहरुको नाम समेत सार्वजनिक गर्न सकेको छैन। मन्त्रिपरिषदको शुक्रबारको बैठकले प्रदेश प्रमुख नियुक्तिको निर्णय गर्ने अपेक्षा गरिए पनि सरकारले सो सम्बन्धी कुनै निर्णय गरेन। वाणिज्यमन्त्री मीन विश्वकर्माले संविधानले आवश्यक अधिकार दिए पनि राजनीतिक सहमतिको प्रयास जारी राख्दा नियुक्तिमा ढिलाइ भएको बताए।
नयाँ बन्ने सरकारले अहिले बन्ने प्रदेश प्रमुख परिवर्तन गर्न सक्ने भएकाले सरकारले राजनीतिक भागबन्डाकै आधारमा सो नियुक्ति गर्न चाहेको छ। तर, वाम गठबन्धनमा आबद्ध दलहरु अहिले सरकारको निर्णयमा हस्तक्षेप नगर्ने तर नयाँ सरकार बनेपछि आफू अनुकूल प्रदेश प्रमुख नियुक्ति गर्ने रणनीतिमा छन्।


