![]()
बिबिसि । अफ्रिकी संघ (एयु) ले अफ्रिकी मुलुकहरूलाई प्रयोग गरेको भनिएको अपमानजनक भाषाबारे क्षमायाचना गर्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग माग गरेको छ । संयुक्त राज्य अमेरिकास्थित एयु नियोगले एउटा विज्ञप्ति जारी गर्दै ट्रम्पको अभिव्यक्तिप्रति आक्रोश र क्षोभ प्रकट गरेको छ ।
उसले विविधता र व्यक्तिको स्वाभिमानलाई सम्मान गर्ने अमेरिकी मान्यताको ट्रम्पले अपमान गरेको जनाएको छ । आप्रवासनबारे कंग्रेसका सदस्यहरूसँगको बिहीवार एउटा बैठकमा ट्रम्पले पछिल्लो टिप्पणी गरेको बताइएको छ । उनको टिप्पणी हेइटी र एल साल्भाडोरसँग पनि सम्बन्धित छ ।
यस्तो विवरण आएको केही समयपछि ट्रम्पले आफूले अशिष्ट भाषा प्रयोग गरेको भन्ने आरोप अस्वीकार गरेका थिए । ट्रम्पको आरोपित टिप्पणीको संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयसहितका क्षेत्रबाट व्यापक आलोचना भइरहेको छ । ट्रम्प प्रशासनले अफ्रिकी मानिसहरूलाई गलत रूपमा बुझेको एयुले जनाएको छ ।
ट्रम्पको आरोपित अभिव्यक्तिपछि बोट्स्वानाले अमेरिकी राजदूतलाई बोलाएर अशिष्ट र अपमानजनक भाषा प्रयोग गरिएका देशभित्र बोट्स्वाना पनि परेको वा नपरेकोबारे स्पष्टीकरण मागेको छ ।
राष्ट्रसंघको मानव अधिकार निकायका प्रवक्ताले ट्रम्पका टिप्पणीहरू पुष्टि भए त्यो ‘स्तब्ध पार्ने’ र ’लज्जास्पद’ भएको प्रतिक्रिया दिएका छन् । अमेरिकाका लागि हेइटीका राजदूतले “अफ्रिकीहरूले फाइदा लिनका लागि आप्रवासीहरू अमेरिका पठाइरहेको भन्ने बुझाइ गलत भएको“ बताएका छन् ।
ह्वाइट हाउसमा सांसदहरूसँग भएको बैठकमा ट्रम्पले किन अफ्रिकी देशका नागरिकहरूलाई अमेरिकामा आउन दिनुर्पयो भनी प्रश्न गरेको विवरणहरू आएका थिए ।


