Breaking News.... EverestOnlineKhabar
April 30, 2026

यस्तो छ राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका,२,०५६ जना मतदाता….

Loading

काठमाडौ,पुस ।
निर्वाचन आयोगले माघ २४ गते बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि तयार गरिएको निर्वाचनसम्बन्धी कार्य तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ५ बमोजिम आयोगले निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्ने, निर्वाचन कार्यक्रममा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेदेखि अन्तिम नामावली प्रकाशन गर्ने र मतदान गर्ने मिति, समय र स्थानसमेत उल्लेख गर्दै कार्यतालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्थानीय तह अन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ ।
यस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ ।
नेपालको संविधान अनुसार, स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रिय सभा सदस्यका लागि ५६ जना निर्वाचित हुने व्यवस्था छ । संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट निर्वाचित हुन आवश्यक पर्ने मत प्राप्त गर्ने देहाय बमोजिम आठ जना सदस्य निर्वाचित हुनेछन् , (क) महिला तीन जना, (ख) दलित एक जना, (ग) अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक जना,(घ) अन्य तीन जना निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।
आयोगबाट प्रदेशगत रूपमा मतदाता नामावली तयार गरी निर्वाचन अधिकृतको कार्यालयमा पठाइने र दाबी विरोधलगायतका प्रक्रिया सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट सञ्चालन गरिने निर्वाचन आयोगले जनाएको छ । आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने र ९ गते अन्तिम नामावली प्रकाशन गरी १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने,१५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र २४ गते बुधबार बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान सञ्चालन गर्ने गरी राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका तयार गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed