![]()
बिबिसि । राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफूले प्रतिष्ठा हासिल गरेको दक्षिणपन्थी झुकाव भएको समाचार संस्था ब्राइटबार्टबाट राजीनामा दिएका छन् ।
ट्रम्पबारे आएको नयाँ किताबमा ब्याननले गरेको आलोचनात्मक टिप्पणीले जन्माएको विवादपछि उनले राजीनामा दिएका हुन् ।
सन् २०१६ को राष्ट्रपतीय चुनावी अभियानका बेला ट्रम्पका छोरा डोनल्ड जुनिअरले एकजना रुसी वकिलसँग न्यूयोर्कमा भेटघाट गर्नुलाई ब्याननले उनकै शब्दमा देशद्रोही कार्यको रुपमा व्याख्या गरेका थिए । ब्यानन ट्रम्पका सबैभन्दा विश्वासिला र विवादास्पद सहयोगीमध्येका एक थिए ।
उनले ह्वाइट हाउसका कर्मचारीबीच भएको शक्ति संघर्षसम्बन्धी विवरणका माझ गत वर्ष आफ्नो पदबाट राजीनामा दिएका थिए । गत आइतवार ब्याननले माइकल वूल्फको फायर एण्ड फ्युरी भन्ने पुस्तकमा आफूले देशद्रोही भनी गरेको टिप्पणी ट्रम्पका छोराप्रति लक्षित नभएको बताएका थिए । उनले उक्त टिप्पणी ट्रम्प टावरमा भएको भेटमा उपस्थित ट्रम्पका अर्का सहयोगी पल म्यानफोर्टप्रति लक्षित भएको बताए ।
सिनेट, हाउस अफ रेप्रेजेन्टेटिभ र एउटा विशेष समितिले अमेरिकी राष्ट्रपतीय चुनावमा रूसले गरेको भनिएको हस्तक्षेपबारे अनुसन्धान गरिरहेका छन् । उक्त आरोपलाई क्रेम्लिन र ट्रम्प दुवैले अस्वीकार गर्दै आएका छन्।
ब्याननले सन् २०१२ देखि समाचार संस्था ब्राइटबार्टको कार्यकारी प्रमुखको रूपमा काम गर्दै आएका थिए । ब्यानन सन् २०१२ देखि उक्त कम्पनीको कार्यकारी अध्यक्ष थिए।


