![]()
काठमाडौं। लामो अलमलपछि अन्ततः नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बसेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बैंकक जानु भन्दा एक दिन पहिले पार्टी एकताको खाका निर्माणमा सहमति खोज्न बैठक बसेको हो ।
ओली निवास बालकोटमा बसेको बैठकमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित झलनाथ खनाल, बामदेव गौतम, माधव नेपाल, ईश्वर पोखरेल र माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी हुनुभएको थियो ।
बैठकमा एकीकृत पार्टीका अध्यक्ष र सरकार प्रमुख छनौट, सत्ता साझेदारीका सर्त, एकिकृत पार्टीका सिद्धान्त र संरचना लगायतका एजेण्डामा छलफल भएको छ ।
निर्वाचनपछि पार्टी एकता र सरकार गठनसँगसँगै जाने घोषण गरेका यी दुई दलको एकीकरण आआफ्नै अडानका कारण सुस्त बनेको छ । वाम एकताका क्रममा केपी ओली प्रधानमन्त्री भएमा एकीकृत पार्टीको अध्यक्ष दाहाल हुनुपर्ने पूर्व अडानबाट माओवादी पछि नहट्ने देखिएको छ ।
माओवादीले ‘सम्मानजनक एकता’ हुनुपर्ने अडान नै दोर्होयाउने रणनीति बनाएको छ । एमालेले भने प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष एउटै हुनु पर्ने सर्त अघि सारेका कारण पार्टी एकता लम्बिएको हो ।


