![]()
एजेन्सी । नेपाल टेलिकमको ‘फेज आउट’ हुने भनिएको एडिएसएल प्रविधिमा ग्राहकको आकर्षण बढेको छ । साउनदेखि कात्तिकसम्मको चार महिने अवधिमा मात्र टेलिकमका १० हजार एडिएसएल ग्राहक थपिएका छन् ।
दूरसञ्चार प्राधिकरणको एमआइएस रिपोर्ट अनुसार गत असार मसान्तसम्म एडिएसएलका ग्राहक १ लाख ८१ हजार ५ सय ८२ थिए । तर कात्तिक मसान्तसम्म सो संख्या १ लाख ९१ हजार ५ सय ८५ पुगेको छ ।
नेपाल टेलिकमले गत साउन १६ गतेदेखि ‘अनलिमिटेड एडिएसएल प्याकेज’ अन्तर्गत १ हजार रुपैयाँमा १ एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउन थालेको थियो। त्यसअघि करसहित न्यूनतम १ हजार १७ रुपैयाँमा २५६ केबीपीएस गतिको एडिएसएल उपलब्ध थियो । साथै भोल्युम बेस्ड एडिएसएलको मूल्य पनि घटाइएको थियो । पहिले २१ जीबी डाटाको लागि एक हजार ९८० शुल्क लिइएकोमा अब १५ जीबी डाटालाई तीन सय रुपैंयाँमा उपलब्ध हुने बनाइएको छ ।
त्यसैगरी २५ जीबी डाटाको पाँच सय तथा ४० जीबीको सात सय तोकिएको छ। यी डाटाको गति पनि १ एमबीपीएस सम्म छ ।
एडीएसएलका ग्राहकको संख्या साउन मसान्तसम्म १ लाख ८५ हजार ४० र भदौ मसान्तसम्म १ लाख ८५ हजार १ सय ४६ पुगेको थियो। यो संख्या असोज मसान्तमा १ लाख ८९ हजार ६२ पुगेको थियो। हाल ६ लाख ७९ हजार ५ सय ८९ ल्यान्डलाइन टेलिफोन वितरण भएका छन् ।


