![]()
बिबिसि । चीनका यातायातमन्त्रीले पूर्वी चीन सागरमा एउटा इरानी पानीजहाज अझै जलिरहेको बताएका छन् । उक्त पानीजहाजले झण्डै १० लाख ब्यारल ’कण्डेन्सेट’ बोकेको थियो । ‘कण्डेन्सेट’ तेलको विषालु र विस्फोटक स्वरूप हो ।
थप विपद् रोक्ने भन्दै चीनले सफाइ गर्नका लागि घटनास्थलमा पानी जहाजहरू पठाएको छ । एउटा मालवाहक पानीजहाजसँग ठोक्किएपछि तीन दिनयता उक्त पानीजहाज जलिरहेको छ ।
चिनियाँ अधिकारीहरूले हराएका चालक दलका ३१ जनाको खोजी कार्यलाई व्यापक बनाएका छन् । खराब मौसमका कारण खोजी कार्य प्रभावित भएको बताइएको छ ।
शनिबार सांघाईबाट १ सय ६० नोटिकल माइल पूर्वमा उक्त दुर्घटना भएको थियो । अहिलेसम्म पानीजहाजबाट चुहिएको तेलको मात्रा र त्यसले वातावरणमा पारिरहेको असरबारे स्पष्ट भइसकेको छैन ।


