![]()
बिबिसि । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले आफूले राष्ट्रपति डोनल्ड ट्रम्पको मानसिक स्वास्थ्यबारे कहिल्यै प्रश्न नगरेको बताएका छन् । एउटा विवादास्पद पुस्तकका लेखकले ह्वाइट हाउसका कर्मचारीले ट्रम्पलाई ’केटाकेटी जस्तो’ हेर्ने गरेको बताएपछि टिलर्सनको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।
माइकल वूल्फले ’फायर एण्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस’ शीर्षकको आफ्नो पुस्तक करिब २०० वटा अन्तर्वार्तामा आधारित रहेको बताएका छन् । प्रकाशन रोक्ने ट्रम्पको प्रयत्नका बावजुद उक्त पुस्तक चाँडै बजारमा आएको छ ।
ट्रम्पले उक्त पुस्तक ’दिक्कलाग्दो र झुटो’ भएको बताउँदै वूल्फलाई ’पूर्णरूपमा हरूवा’ भनेका छन् । आफूलाई चोट र्पुयाउन सञ्चारमाध्यम र अरूले उक्त पुस्तकलाई अघि बढाएको ट्रम्पले दावी गरेका छन् । ट्रम्पले थपेका छन, “उनीहरूले चुनाव जित्ने प्रयास गर्नुपर्छ । दुःखद कुरा !“
ट्रम्पलाई पटक–पटक ’मूर्ख’ भन्दै आएका विदेशमन्त्री टिलर्सनले यो वर्षको शुरूतिर सीएनएनलाई भने, “उनको मानसिक स्वास्थ्यबारे मैले प्रश्न गर्नुपर्ने कुनै कारण छैन ।“
टिलर्सनले राष्ट्रपतिसँग आफूले ’सम्बन्ध विकसित गरिरहेको’ बताएका छन् । एउटा विवादपछि आफूले ह्वाइट हाउस छाड्न लागेको भन्ने अड्कलबाजीको खण्डन गर्दै उनले २०१८ भरि नै सेवा गर्ने बताए ।


