![]()
एजेन्सी,३ असार ।
दार्जीलिङमा केही दिनदेखि भाषालाई लिएर भइरहेको आन्दोलन झन चर्कदै गएको छ । गोर्खा जनमुक्ति मोर्चा र अन्य घटकहरू मिलेर केही दिनदेखि गरेको आन्दोलनमा थुप्रै सरकारी कार्यलयहरूमा तोडफोड र आगजनी भएका छन् । दार्जीलिङलगायतका पश्चिम बंगाल प्रदेशका पहाडी क्षेत्रहरूमा केही दिनदेखि आन्दोलनकारी र प्रहरीबिच झडप भइरहेको छ । गोर्खा जनमुक्ति मोर्चाले अनिश्चितकालीन पहाड बन्दको घोषणा गरेको छ ।
पश्चिम बंगाल सरकारकी मुख्यमन्त्री ममता बर्नजीले विद्यालय शिक्षामा बंगाली भाषा अनिवार्य गर्न लागेकाले दार्जीलिङमा आन्दोलन चर्केको हो । भाषा विवादबाट सुरु भएको आन्दोलनमा छुट्टै प्रदेश गोर्खाल्याण्डको माग उठ्न थालेको छ । दार्जीलिङको स्थानीय प्रशासन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जिटिए)को नेतृत्वमा चलिरहेको छ ।
सन् १९६१ मा दार्जीलिङगायतका पहाडी क्षेत्रको आधिकारिक भाषा नेपाली बनाइएको थियो । सन् १९९२ मा भारतमा नेपाली भाषालाई आधिकारिक भाषाको मान्यता दिइएको थियो ।


