![]()
काठमाडौ,२३ जेठ ।
प्रधानमन्त्री छनोट प्रक्रिया त्रुटीपूर्ण भएको भन्दै व्यवस्थापिका संसद अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निःशर्त संसदको अवरोध फिर्ता लिएको छ । साथै एमाले प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी हुन सहमत भएको छ । एमाले आफ्नो अडानबाट पछि हटेपछि मंगलबार (आज) संसदले नयाँ प्रधानमन्त्री चयन गर्ने बाटो खुलेको छ । भोलिको बैठकमा एमाले पनि प्रधानमन्त्री निर्वाचनको प्रक्रियामा सहभागी हुने तर देउवाको विपक्षमा मतदान गर्ने एमाले नेता भीम रावलले बताएका छन् ।
एमालेले प्रधानमन्त्रीलाई लागि वामदेव गौतमको उम्मेदवारी दिने चर्चा गरे पनि पछिल्लो समयमा उसले उम्मेदवारी दिएको छैन । एमालेले भरतपुरमा मतगणना सुचारू गर्न माग गर्दै संसदमा अवरोध सुरू गरेको थियो । एमालेको अवरोधका कारण बहुमतीय सरकार गठनका लागि आहृवान गरिएको राष्ट्रपतिको पत्र समेत सदनमा पेश हुन सकेन र सूचनामार्फत प्रधानमन्त्री चयनको प्रकिया सुरू भयो ।
एमालेले भने प्रधानमन्त्री छनोट प्रक्रिया त्रुटीपूर्ण भएको तर्क गर्दै सदनको अवरोध कायमै राख्ने अडान दियो र प्रधानमन्त्रीमा उम्मेदवारी समेत दिएन । यतिसम्मकी एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंमले प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु भएको थाहै नभएको बताए । उसले भरतपुरमा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा जाने र त्यहाँबाट फैसला आउने समय खोजेको थियो ।
सोमबार सर्वोच्चले तत्काल मतदानको प्रक्रिया अघि नबढाउन भनेपछि एमाले सदन खोज्न तयार भयो । लगतै सभामुखको पहलमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा संसद सुचारु गर्न एमालेले सहमति जनायो । त्यहाँ उसले २१ गतेको चुनाव रोक्ने क्रममा भनेको जस्तो प्रधानमन्त्री निर्वाचन प्रक्रिया त्रुटिपूर्ण छ भनेन ।


