Breaking News.... EverestOnlineKhabar
April 17, 2026

कांग्रेस र राजपा नेपालको बैठकमा के भयो ? यसो भन्छन् राजेन्द्र महतो

Loading

काठमाडौं, जेठ ३ । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफल बनाउन आवश्यक वातावरण बनाउने निष्कर्ष निकालेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बसेको दुबै पक्षका शीर्ष नेताको बैठकले निर्वाचनमा राजपा नेपालको सहभागिताका लागि संविधान संशोधनलगायत माग सम्बोधन गर्ने सहमति गरेको हो ।

यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन राजपा नेपालकोसमेत सहभागितामा सफल बनाउने सम्बन्धमा छलफल भएको बैठकपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

वरिष्ठ नेता पौडेलले भने–‘उहाँहरुका माग सम्बोधन गर्दै जान्छौं र गर्छौं । संविधान संशोधन प्रस्तावलाई पारित गर्न आवश्यक बहुमत पुर्‍याउन अन्य पार्टीसँग पनि छलफल गर्छौं ।’

तराई–मधेसमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउने सम्बन्धमा सरकारका तर्फबाट काम भइरहेको बताउँदै उनले राजपा नेपालको मागबमोजिम आन्दोलनमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गर्ने काम भइसकेको जानकारी दिए ।

बैठकमा राजपा नेपाललाई निर्वाचनमा चुनाव चिह्न दिलाउने सम्बन्धमा पनि निर्वाचन आयोगसँग छलफल गर्ने सहमति भएको छ ।

संविधान संशोधन पारित गर्ने सम्बन्धमा सत्तापक्षका दलहरुले बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलसँग छलफल गर्ने तयारी गरेका छन् ।

राजपा नेपालले बैठकमा निर्वाचनका लागि आवश्यक वातावरण बन्न नसकेकोप्रति कांग्रेसको ध्यानाकर्षण गराएको राजपा नेपालका नेता राजेन्द्र महतोले जानकारी दिए ।

निर्वाचनको वातावरण नबनेसम्म तराई–मधेसमा निर्वाचन हुन नसक्ने स्पस्ट पार्दै उनले त्यसका लागि संविधान संशोधन गर्नुपर्ने, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउनुपर्ने र आन्दोलनकाक्रममा लागेका मुद्दा फिर्ता लिइनुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed