![]()
संयुक्त राज्य अमेरिकाले रासायनिक अस्त्र हमलाको प्रतिक्रिया स्वरुप अघिल्लो हप्ता गरिएको क्षेप्यास्त्र हमलामा सिरियाका २० प्रतिशत चालु अवस्थाका विमानमा क्षति पुगेको जनाएको छ।
अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले सिरियाली सरकारले शेरात हवाई अखडामा रहेका विमानहरुमा इन्धन भर्ने र हतियार सुसज्जित गर्ने क्षमता गुमाएको बताए।
ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले आगामी दिनमा सिरियाली सरकारले गर्ने कुनै पनि रासायनिक अस्त्र वा व्यारल बमको प्रयोगविरुद्ध अमेरिकी सैनिकले प्रतिकार गर्ने संकेत गरे।
पश्चिमा देशहरुले सिरियालाई दिएको समर्थनबाट फिर्ता हुन रुसमाथि दबाब बढाउने प्रयास गरिरहेका छन्।
क्षति
रासायनिक अस्त्र प्रयोगको विरोधमा सिरियाको हवाई अखडालाई निशाना बनाउँदै बिहीबार अमेरिकाले ५९ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो।
अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले सो हमलाले सिरियाको हवाई क्षमतामा उल्लेख्य क्षति पुर्याएको र झण्डै २० प्रतिशत चालु अवस्थाका विमान नष्ट पारेको जनाए।
तस्वीर कपीराइटEPAउनले सिरियाले पुनः रासायनिक अस्त्र प्रयोग गर्नु घातक हुने चेतावनी पनि दिए।
इडलिब प्रान्तको एउटा विद्रोही नियन्त्रित नगरमा भएको भनिएको रासायनिक अस्त्र हमलामा ८९ जना मारिएका थिए।
सिरिया सरकारले आफूले त्यस्तो रासायनिक आक्रमण नगराएको बताउँदै आएको छ।
दबाब
यसबिच अमेरिका र ब्रिटेनका नेताहरुले सिरियाली राष्ट्रपति बसर अल असदलाई दिइरहेको समर्थनबाट पछि हट्न रुसलाई मनाउन सकिने सम्भावना रहेको जनाएका छन्।
सोमबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको टेलिफोन कुराकानीमा ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले सिरियाली सरकारसँगको गठबन्धन अब मस्कोको रणनीतिक हितमा नभएको बताइन्।
तस्वीर कपीराइटREUTERSइटलीमा जारी औद्योगिक राष्ट्रहरुको समूह जी सेभेनका विदेशमन्त्रीहरुको बैठकमा रुसलाई सिरियाली सरकारलाई दिएको समर्थन फिर्ता लिन मनाउने प्रयास भइरहेको छ।
ब्रिटेनका विदेशमन्त्री बोरिश जनसनले मस्कोसँग सिरियाको, उनकै शब्दमा, विशाक्त सरकारलाई साथ दिने या बाँकि विश्वसँग हातेमालो गरी सिरियामा राजनीतिक समाधान खोज्ने भन्ने विकल्प बाँकि रहेको बताए।
जी सेभेनका विदेशमन्त्रीहरुले रुस र सिरियाविरुद्ध थप प्रतिबन्धहरु लगाउनेबारे छलफल गरिरहेको नेताहरुले बताएका छन्।
अमेरिकी विदेशमन्त्री टिलरसनले मस्कोको भ्रमण रद्द गरी जी सेभेनको बैठकमा भाग लिन आएका ब्रिटिश विदेमन्त्री बोरिश जनसनसँग छलफल गरेका थिए।
सम्वाद
लुकास्थित बैठकस्थलमा रहेका बीबीसी संवाददाता जेम्स रोबिन्सका अनुसार विदेशमन्त्रीको तहमा भएका सहमति लिएर अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन मस्को जानेछन् र रुसी नेतृत्वसँग छलफल गर्नेछन्।
तस्वीर कपीराइटGETTYउनका अनुसार रुसले थप कारबाही गरिने चेतावनीहरुलाई खासै वास्ता गरेको छैन र सिरियामा जिहादीहरु बढ्नुमा उसले पश्चिमा गतिविधि जिम्मेवार भएको आरोप लगाउने गरेको छ।
सिरियाली सत्ताको मुख्य समर्थक रहेका इरान र रुसले अघिल्लो हप्ता जस्तै क्षेप्यास्त्र आक्रमण पुन: गरिए त्यसको सैन्य प्रतिकार गर्ने चेतावनी दिएका छन्।
अलि मध्यमार्गी देखिएका इरानी राष्ट्रपति हसन रुहानीले विद्रोहीहरुसँगको लडाइँसँगसँगै राष्ट्रपति असदको सत्तामा पनि केही सुधार हुनुपर्ने धारणा राखेका छन्।


