Breaking News.... EverestOnlineKhabar
April 28, 2026

Loading

भारतसँग सीमा जोडिएको लुम्बिनी क्षेत्रबाट हराइरहेका भनिएका एकजना अवकाशप्राप्त पाकिस्तानी सैनिकको खोजी शुरु गरिएको नेपाली अधिकारीहरुले बताएका छन्।
पाकिस्तान सरकारको औपचारिक अनुरोधपछि उनको खोजी कार्य अघि बढाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
पाकिस्तानी सञ्चारमाध्यमले अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर रोजगारीका लागि अन्तर्वार्ता दिन नेपाल पुगेपछि बिहीबारबाट बेपत्ता भएको जनाएका छन्।
उनी बुद्ध एअरको विमान चढेर काठमाण्डूबाट लुम्बिनीसम्म गएको र त्यहाँबाट अचानक सम्पर्कविहीन भएको जनाइएको छ।
खोजी
पाकिस्तानी विदेश मन्त्रालयले सो विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको बताइएको छ।
नेपाली परराष्ट्र मन्त्रालयले पनि सो विषयमा आइतबार काठमाण्डूस्थित पाकिस्तानी दूतावासको पत्र प्राप्त भएको र त्यसपछि खोजी कार्य अघि बढाउन गृह प्रशासनलाई निर्देशन दिइएको जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले भने, “हामीले उक्त घटनाबारे सत्यतथ्य बुझ्न स्थानीय प्रहरीलाई निर्देशन दिएका छौँ।’
पाकिस्तानी अधिकारीहरुले जाहिर एप्रिल ६ तारिखमा ‘अन्तर्वार्ताका लागि’ लुम्बिनी गएको उनले ह्वाट्स एपबाट पठाएको तस्वीरले देखाएको उल्लेख गरेका छन्।
नक्कली
उनलाई मार्क थम्पसन नाम गरेका व्यक्तिले कुनै राष्ट्रसंघीय निकायका लागि अन्तर्वार्ता दिन नेपाल बोलाएको बताइएको छ।
जाहिरलाई ती व्यक्तिले पठाएको भनिएको पत्रमा तीन दिन नेपालमा रहँदा एक दिन लुम्बिनीमा बिताउने र तीन दिन राजधानीको एउटा पाँचतारे होटलमा बस्ने उल्लेख छ।
पाकिस्तानमा उनको परिवारले जाहिर हराएको भन्दै खोजी गरिदिन आग्रहसहित निवेदन दिएको बताएको छ।
पाकिस्तानी अधिकारीहरुले जाहिरसँग सम्पर्कमा रहेको मार्क थम्पसन भन्ने मानिस नक्कली रुपमा खडा गरिएको र उनको कम्पनीको वेबसाइट समेत बन्द भएको उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed