![]()
विराटनगर,२५ चैत ।
सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिइसकेका मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारले सरकार निर्माणको नयाँ गठबन्धन तयार भइरहेको दावी गरेका छन् ।
बुधबार मात्र दुईवटा पार्टीसँग एकीकरण गरेर देशको पाँचौ ठूलो दलका अध्यक्ष बनेका गच्छदारले बिहिबार गएर नयाँ गठवन्धन तयार भएको दावी गरेका हुन् । विराटनगरको विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले बैशाखको पहिलो साता नयाँ सरकार गठन हुने दावी गरे ।
सरकारले चुनाव गराउन सके धेरैमा यो सरकार एक महिना चल्छ नभए बैशाखको पहिलो हप्ता नयाँ सरकार गठन हुने उनले बताए । वर्तमान सरकार चुनाव गराउन नचाहेको कुरा स्पष्ट भएको बताउँदै उनले नयाँ सरकारले मात्र चुनाव गराउने बताए । उनले सरकारले चुनाव गराउने अवस्था नरहेका कारणले राजनीतिक नयाँ ढंगबाट अगाडि बढी सकेको पनि खुलाए । चैत १५ गते अध्यक्ष गच्छदारले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।


