![]()
काठमाडौ,३ असार ।
राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । २ नम्बर प्रदेशको चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गरेको छ । काठमाडौमा शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने निर्णय गरेको हो । राजपा अध्यक्ष मण्डलका एक सदस्य राजकिशोर यादवले भनेः‘सरकारले हाम्रो सहमति बेगर एकतर्फीरुपमा २ नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरेको छ,सरकारको यस्तो निर्णय हामीलाई मान्य छैन, हामी हाम्रा मागहरु पूरा नभएसम्म चुनावमा भाग लिँदैनौं र आन्दोलन जारी राख्छौं ।’
यसअघि घोषणा गरिएका आन्दोलका कार्यक्रम फिर्ता नहुने यादवले बताए । साथै विगतमा मधेसकेन्द्रित दलहरुले उठाउँदै आएका मागहरुमा राजपाको अडान यथावत रहेको उनले बताए । राजपाले असार २ गते मनोनयन दर्तालाई अवरोध पुर्याउने गरी लाठी जुलुस र बन्दको आयोजना गरेकोमा उक्त कार्यक्रम ४ गते गर्ने गरी सारेको छ ।


