![]()
भैरहवा,२ असार ।
एक्सपर्ट स्कुल क्रिकेट लिग ०७४ को उपाधि कञ्चनपुरको अनिरुद्ध उच्च माविले जितेको छ । उपाधिसहित अनिरुद्धले १ लाख रुपैयाँ पुरस्कार समेत प्राप्त गरेको छ । बिहीबार भैरहवाको सिद्धार्थ रंगशालामा सम्पन्न फाइनल खेलमा न्यू होराइजन उच्च मावि रुपन्देहीलाई ४ विकेटले पराजित गर्दै अनिरुद्धले उपाधि उचालेको हो ।
न्यू होराइजनबाट जितका लागि पाएको ७२ रनको सामान्य लक्ष्यलाई अनिरुद्धले निर्धारित २० ओभरको खेलमा १६ ओभर ४ बलमै ६ विकेटको क्षतिमा पूरा गर्यो । अनिरुद्धको जितमा साजन गौतमले सर्वाधिक १८ रन बनाए भने अशोक बिष्टले १७ रनको योगदान गरे ।
बलिङ्गमा न्यू होराइजनका कुशल मल्लले ३ विकेट लिए । सन्देश पाण्डे, प्रकाश गिरी र सन्दिप पाण्डेले समान एक–एक विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङ गर्न आएको न्यू होराइजनले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ७१ रनको सामान्य योगफल तयार गरेको थियो । होराइजनका लागि विशाल खत्रीले सर्वाधिक १९ रन बनाए भने प्रकाश गिरीले १३ र मौसम खाम्चाले ११ रन बनाएका थिए ।
होराइजनलाई सस्तैमा समेट्ने क्रममा अनिरुद्धका अरबिन्द ऐर र भुवन पालले समान २–२ विकेट लिएका थिए । अशोक बिष्ट, रविन साउद र पारस केसीले एक(एक विकेट झारे ।
प्रतियोगितामा अनिरुद्धका अरबिन्द ऐर म्यान अफ द फाइनल घोषित भए । म्यान अफ द सिरिज न्यू होराइजनका कुशल मल्ल भए । मल्ल उत्कृष्ट ब्याट्स म्यान र सोही स्कुलका सन्देश पाण्डेले बेष्ट बलरको अवार्ड पाए । अनिरुद्धका पारस केसी उत्कृष्ट फिल्डर भए ।


