Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस १८, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ । चार खेलमा तीनमा जीत तथा एक खेल बराबरी खेल्दै मनाङ १० अङ्कका साथ शीर्ष स्थानमा रहन सफल भएको हो । तेस्रो चरण सकिँदासम्म शत प्रतिशत नतिजा निकालेको मनाङ चौथो चरणमा फ्रेन्डस् क्बलसित १–१ को बराबरी खेल्न पुगेको थियो । तीन खेलमा जीत तथा एकमा बराबरी खलेको मछिन्द्र क्लब दोस्रो स्थानमा छ । मछिन्द्रले चौथो चरण सकिँदा नौ अङ्क जोडेको छ । यस्तै तीन खेलमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब नौ अङ्कसहित लिगको तेस्रो स्थानमा छ ।

दुई खेलमा जीत तथा दुईमा बराबरी खेल्दै आठ अङ्कका साथ जावलाखेल चौथो स्थानमा, नेपाल पुलिस क्लब दुई खेलमा जीत, एउटामा हार तथा एउटामा बराबरी खेल्दै सात अङ्क जोडेर पाँचौँ स्थानमा पुग्न सफल भएको छ । यसैगरी दुई खेलमा जीत, एकमा हार र एउटामा बराबरी खेलेको थ्री स्टार सात अङ्कसहित लिगको छैटौँ स्थानमा छ । ब्रिगेड ब्वाइज क्लब दुईटामा जीत र दुई खेलमा हार बेहोर्दै छ अङ्कसहित सातौँ स्थानमा, न्यूरोड टिम दुई खेलमा जीत र दुई पराजित हुँदै चार अङ्कका साथ आठौँ, च्यासल युथ क्लब एक खेलमा जीत, दुईमा हार र एउटामा बराबरी खेल्दै चार अङ्कसहित नवौँ स्थानमा छ ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लब चार खेलमा एउटामा जीत, दुईमा हार र एकमा बराबरी खेल्दै चार अङ्कसहित दशौँ स्थानमा र सङ्कटा क्लब एउटा खेलमा जीत, दुईमा हार तथा एउटामा बराबरी खेल्दै चार अङ्कसहित एघारौँ स्थानमा छ । उनीहरू समान अङ्क भए पनि गोल अन्तरका आधारमा दशौँ र ११औँ भएका हुन् । हिमालयन शेर्पा क्लब दुई खेलमा हार तथा दुईमा बराबरी खेलेर दुई अङ्क जोडेर १२औँ स्थानमा रहेको छ । चार खेलमा तीनमा हार तथा एकमा बराबरी खेल्दै एक अङ्क बटुलेको फ्रेन्डस् क्लब १३औँ स्थानमा छ । तेस्रो चरणको खेल सकिँदा फ्रेन्डस् क्लब अङ्कबिहीन थियो । तेस्रो चरणमा अङ्कविहीन अवस्थामा रहेको सरस्वती युथ क्लबको अवस्था चौथो चरणको खेल सकिँदा पनि उस्तै छ । ऊ चार खेलमै हार बेहोर्दै अङ्कविहीन नै छ ।
यस्तै , शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत पाँचौँ चरणका खेल शनिबारदेखि हुनेछन् । पाँचौँ चरणका खेल दशरथ रङ्गशाला र सातदोेबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा खेलाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed