Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मधेसवादी दलःबाहिर विरोध,भित्रभित्रै चुनावी तयारी…..

Loading

काठमाडौ,२२ चैत ।
मधेसवादीले मोर्चा कसेर स्थानीय निकायको निर्वाचन बहिष्कार गरिरहेका छन् । उनीहरूलाई पहिचानवादीले पनि साथ दिएका छन् तर स्थानीय रूपमा भने मोर्चाका नेताकार्यकर्ता नै चुनावको मिति कुरेर बसेका छन् । कुरा मिलेर चुनाव भए भाग लिने नत्र हुन नदिने यस्तै रणनीति छ उनीहरूको ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वसांसद जयराम यादव विराटनगरको मेयरमा उठ्ने चर्चाले नगर तातेको छ । फोरमका नेता कार्यकर्ताले पनि यो बहसलाई नकारेका छैनन् । यादव भन्छन्ः‘राजनीतिक सहमति भई पार्टीले मलाई जिम्मेवारी दियो भने उठ्छु तर हाम्रा माग पूरा नहुन्जेलसम्म आन्दोलन गरिरहन्छौं ।’ केन्द्रमा कुरा नमिले चुनावमा भाग नलिने बरू अझ सशक्त आन्दोलन गर्ने उनले बताए ।
विराटनगरको मेयरमा कांग्रेस र एमालेले उम्मेदवार तय गरिसकेका छैनन् । लोकप्रिय र निकै दह्रो उम्मेदवार मानिएका यादव आए कस्तो रणनीति बनाउने भन्नेमा कांग्रेस÷एमाले अन्योलमा छन् ।मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का क्षेत्रीय अध्यक्ष मलिम उद्दिन भन्छन्ः‘चुनाव सबैलाई चाहिएको छ । अझ स्थानीय निकायको चुनाव नहुँदा त जनताले धेरै दुःख पाइसके तर मधेसी समुदायले उठाएका माग सम्बोधन गरेर मात्र चुनाव गरिनुपर्छ ।’ उनले राजनीतिक दलले एक आपसमा सहमति कायम गरेर विवादको टुंगो लगाउनुपर्ने सुझाव दिए ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रञ्जित गोस्वामी आफूहरूलाई पनि चुनाव लागेको बताउँछन् । उनले पहिलो संविधान सभापछि पहिचानको पक्षमा उर्लंदो जनमत देखेर दलहरूले चुनाव नगरेको बताउँदै उनले यो पटक भने आफूहरूलाई अल्मल्याएर चुनाव गर्न लागेको आरोप लगाए ।
चुनावको दिन गन्ती आफूले पनि गरिरहेको तर्क गर्दै उनले भनेः‘ चुनाव आउन अब ४१ दिन बाँकी छ । चुनाव हुन्छ, हामी भाग लिन्छौं तर हाम्रा माग सम्बोधन हुनुपर्छ ।’चुनावका लागि सुनसरीमा सबै दल लागि परेका छन् । चुनावको विरोध गरिरहेका दलहरू समेत टोलटोलमा सम्पर्क कार्यालय खोलिरहेका छन् । यस्तै चुनावका लागि जनमत सिर्जना गर्न अनौपचारिक घरदैलोसमेत गरिरहेका छन् ।
यस्तै आदिवासी जनजातिको बाहुल्य रहेको सुनसरीको धरानमा पनि संघीय समाजवादी फोरम आन्तरिक तयारीमा लागेको छ । धरान उपमहानगर कमिटीका अध्यक्ष पारस काङबाङ आन्तरिक रूपमा लागि परेको स्वीकार गर्दै भन्छन्ः‘ बाहिर भन्न नमिले पनि हामी आन्तरिक रूपमा चाहिँ तयारीमा लागिरहेका छौं । वडा भेला, महिला समूह गठन गर्ने काम भइरहेका छन् ।’ उनले केन्द्रीय तहमा सहमतिको प्रयास भई रहेकाले कुरा मिल्ने र चुनाव हुने विश्वास व्यक्त गरे ।
यस्तै तराई मधेस लोकतान्त्रिक पार्टी नेपालले समेत चुनाव आफूहरूको समेत चाहना भएको जनाएको छ । पार्टीका वरिष्ठ जिल्ला उपाध्यक्ष देवराम मधेसीले जनतालाई चुनाव चाहिएको बताए । उनले आन्तरिक तबरमा आफूहरूले कुनै तयारी नगरेको दाबी गरे पनि सुनसरीका दक्षिणवर्ती गाविसहरूमा उनको पार्टीसमेत चुनावको तयारीमा जुटेको छ ।
दुई दशकदेखि स्थानीय तहमा जनप्रतिनिधि नहुँदाको पीडा पूर्वी तराईका साना दलका कार्यकर्तालाई छ । उनीहरूको मनसाय स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने नै छ । तर आफ्नो दलका माग र आन्दोलनले निर्वाचनको पक्षमा सीधै वकालत गरेर हिँड्न सकेका छैनन् । कतै स्थानीय तहको निर्वाचन हुन नसक्ने पो हो कि भन्ने चिन्ता छ । तराईको आन्दोलनले झापालाई उतिसाह्रो छोएन । मधेसवादी दलका कार्यकर्ता न आन्दोलनमा निस्के न तनिर्वाचनका विपक्षमा बोलिरहेका छन् । केही निर्वाचनमा भाग नलिने भनिरहँदा धेरैले निर्वाचनको मौन समर्थन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed