Breaking News.... EverestOnlineKhabar
April 26, 2026

Loading

दार्जिलिङ : पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार दुई जनाको मृत्यु भएको छ ।
मोर्चाको आह्वानमा ‘चलो पातलेवाँस’ अभियानको दोस्रो दिन नारी मोर्चाले गरेको डन्डी प्रदर्शनमा हस्तक्षेप गरेपछि भड्किएका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । मोर्चा कार्यकर्तालाई नियन्त्रण गर्ने क्रममा प्रहरीले दार्जिलिङको बिजनवारीनजिक गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । बिजनवारीका दली सुब्बा र लाक्पा शेर्पाको मृत्यु भएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिनुभयो ।
बंगाल प्रहरीले बिहानैदेखि नाराबाजीसहित दार्जिलिङ सहर प्रवेश गर्ने मोर्चाका कार्यकर्तालाई रोक्न विभिन्न नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । मोर्चा महासचिव रोशन गिरीले बंगाल प्रहरीले चार जनाको हत्या गरेको आरोप लगाउनुभएको छ । आन्दोलन चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल बन्द गराएको छ । बंगाल सरकारले हिमाली, डीटीभीलगायत च्यानल बन्द गराएको हो । प्रहरीले पत्रकार विक्रम राईलाई गत राति पक्राउ गरेको छ । दार्जिलिङका सांसद अम्बर राईका छोरा उहाँ एनडीटीभी, टीभी चौबिस घन्टासहितका सञ्चारमाध्यममा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई मध्यरातमा गिरफ्तार गरेको बताइएको छ । उहाँ सेन्ट जोसेफ क्याम्पसका सहप्राध्यापकसमेत हुनुहुन्छ । मोर्चा कार्यकर्ताले गुम, बिजनवारी, लेबुङलगायत विभिन्न स्थानबाट र्‍याली निकालेका थिए ।बंगाल प्रहरीले चार जनाको हत्या गरेको मोर्चाको आरोप, स्थानीय टेलिभिजन च्यानल बन्द, पत्रकार पक्राउ
यसअघि शुक्रबार दिल्ली पुगेको मोर्चाको प्रतिनिधिमण्डलले गृहमन्त्री राजनाथ सिंहलाई भेटेर राज्य सरकारको ज्यादतीविरुद्ध हस्तक्षेपकारी भूमिका खेल्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुग्नुभएका मोर्चाका महासचिव रोशन गिरीले भन्नुभयो, ‘हामीले गृहमन्त्रीलाई भेटेर बंगाल सरकारको कदमविरुद्ध हस्तक्षेपकारी भूमिका खेल्न आग्रह गरेका छौं ।’ गृहमन्त्री सिंहले उपयुक्त कदम चाल्ने आश्वासन दिएको उहाँले बताउनुभयो ।
गुरुङनिवास र मोर्चाको कार्यालयमा छापा मारेपछि बिहीबार दिउँसोदेखि सुरु भएको अनिश्चितकालीन गोर्खाल्यान्ड बन्द शुक्रबार पनि जारी रहेको महासचिव गिरीले जानकारी दिनुभयो ।बंगालभाषाको बाध्यकारी अध्ययन व्यवस्था गरिएपछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको गोर्खाल्यान्ड क्षेत्रमा चर्किएको आन्दोलन दबाउन प्रहरी र सेना परिचालन गरेको पाँचौं दिन बिहान ७ बजे बंगाल प्रहरीले मोर्चाको कार्यालय र अध्यक्ष गुरुङको घरमा छापा मार्ने नाममा तोडफोड गरेको थियो । त्यसलगत्तै मोर्चाले बन्द आह्वान गरेको हो ।
उक्त घटनापछि मोर्चाका नेता भूमिगत अवस्थामा छन् । मोर्चा अध्यक्ष गुरुङले बंगाल सरकारले गोर्खाल्यान्डमा आतंक मच्चाएको प्रतिक्रिया दिनुभएको छ । उहाँले ममता बेनर्जीको आतंकका कारण गोर्खाल्यान्डको माग नरोक्ने प्रस्ट पार्नुभएको छ । गुरुङले गोर्खाल्यान्डको एक मात्र एजेन्डासहित आफू अविचलित अघि बढ्ने बताएको मोर्चानेत्री नीरा शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed