![]()
ललितपुर, २ पुस । संविधानसभा सदस्य एवं बागमती प्रदेश सभा सदस्य राम कृष्ण चित्रकारले ललितपुर क्षेत्र नं. २ को समग्र आर्थिक र सामाजिक रुपान्तरणका लागि आफ्नो स्पष्ट भिजन (सपना) सार्वजनिक गर्नुभएको छ। विद्यार्थी राजनीतिदेखि संविधान निर्माणसम्म सक्रिय भूमिका निभाउनुभएका चित्रकारले आफ्नो निर्वाचन क्षेत्रलाई आर्थिक रुपमा सबल र सांस्कृतिक रूपमा जीवन्त बनाउने योजना अघि सार्नुभएको हो।
सांसद चित्रकारले मुख्यगरी तीनवटा क्षेत्रलाई प्राथमिकतामा राख्दै ‘समृद्ध ललितपुर’को खाका प्रस्तुत गर्नुभएको छ:
१. पर्यटनबाट समृद्धि: गणेशमान सिंह पार्क र लाकुरीभञ्ज्याङको विकास
महालक्ष्मी नगरपालिकामा सबैभन्दा ठूलो पार्कको रूपमा ‘गणेशमान सिंह पार्क तथा सङ्ग्रहालय’ निर्माण गर्ने उहाँको योजना छ। लामाटार र लाकुरीभञ्ज्याङलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गरी सिङ्गै महालक्ष्मी नगरको आर्थिक गतिविधिमा तीव्रता ल्याउने र नागरिकको जीवनस्तर सुधार्ने लक्ष्य चित्रकारले राख्नुभएको छ।
२. नेपाल भाषा र संस्कृतिको संरक्षण
बागमती प्रदेश सरकारले नेपाल भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरिसकेको सन्दर्भमा, चित्रकारले ‘नेपाल भाषा मंका खल: यल’ लाई प्रदेश सरकारको परामर्श केन्द्रको रूपमा विकास गर्ने प्रस्ताव गर्नुभएको छ। यसका लागि बहुउद्देश्यीय भवन निर्माण गरी भाषा सङ्ग्रहालय, पुस्तकालय, र अनुसन्धान केन्द्र स्थापना गर्ने उहाँको संकल्प छ।
३. हस्तकलाको राजधानी र स्वरोजगारको ग्यारेन्टी
ललितपुर महानगरलाई ‘हस्तकलाको राजधानी’ घोषणा गरी ‘खुल्ला हस्तकलाग्राम’ को नीति लागू गर्ने उहाँको ठूलो सपना छ। सुन, चाँदी, तामा, प्रस्तर कला र सेरामिक्स जस्ता परम्परागत व्यवसायलाई सरकारी लगानीमा आधुनिक पूर्वाधार र कच्चा पदार्थ उपलब्ध गराउने चित्रकारको योजना छ। उहाँ भन्नुहुन्छ:
“हाम्रो मौलिक कलालाई निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने र युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाई विदेश पलायन रोक्ने मेरो लक्ष्य हो। यसबाट प्राप्त हुने करबाट शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढाउन सकिन्छ।”
अनुभवी नेतृत्व: विद्यार्थी राजनीतिदेखि संविधान निर्माणसम्म
राम कृष्ण चित्रकार केवल नेता मात्र नभई एक अनुभवी योजनाकार पनि हुनुहुन्छ। २०५९ देखि २०६३ सम्म नेपाल विद्यार्थी संघको उपाध्यक्ष भई शिक्षा क्षेत्रको सुधारमा खटिनुभएका चित्रकारले २०६४ को संविधानसभा सदस्यका रूपमा देशको मूल कानुन निर्माणमा महत्त्वपूर्ण योगदान दिनुभएको थियो। हाल बागमती प्रदेश सदस्यका रूपमा ललितपुर क्षेत्र नं. २ (ख) बाट निर्वाचित भई उहाँ अहोरात्र समाज रूपान्तरणमा क्रियाशील हुनुहुन्छ।
उहाँका यी सपनाहरूले ललितपुरको मौलिक पहिचान जोगाउँदै आधुनिक र आर्थिक रूपले सम्पन्न समाज निर्माण गर्ने अपेक्षा गरिएको छ।


