![]()
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रभावशाली नेता डा. शेखर कोइरालाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा राजनीतिक संवाद भएको छ। पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला भएको यस भेटलाई कांग्रेसभित्र निकै चासोका साथ हेरिएको छ।
झण्डै एक घण्टा चलेको छलफलमा डा. कोइरालाले पार्टी सञ्चालनको विधि र पछिल्लो समय क्रियाशील सदस्यता वितरणमा देखिएको अपारदर्शिताप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।भेटका क्रममा कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले जिल्ला–जिल्लामा पठाएको फाराममा ‘सिरियल नम्बर’ नभएको विषयलाई मुख्य मुद्दा बनाएका छन्। उनले बिना नम्बरका फारामहरू पठाउनुले पार्टीभित्र संस्थागत धाँधलीको गन्ध आएको भन्दै सभापति देउवाको ध्यानाकर्षण गराए।
“जिल्ला-जिल्लामा नम्बर बिनाका फाराम पठाउनुले नियतमाथि प्रश्न उठाएको छ,” कोइरालाले भेटमा भने, “यसले निष्पक्ष महाधिवेशनको सुनिश्चितता गर्दैन, तत्काल यो प्रक्रिया सच्याउनुपर्छ।”
अनुशासन समितिको कारबाहीमा असन्तुष्टि , केन्द्रीय अनुशासन समितिले पछिल्लो समय अगाडि बढाएको कारबाहीको प्रक्रियालाई लिएर पनि कोइरालाले प्रश्न उठाएका छन्। नेतृत्वको आलोचना गर्नेलाई लक्षित गरी पूर्वाग्रही ढंगले कारबाही गरिएको भन्दै उनले पार्टीभित्र सबैलाई समान न्याय हुनुपर्ने अडान राखे।
जिल्ला पठाइएका बिना नम्बरका फारामहरूको तत्काल खारेजी र व्यवस्थित वितरण।महाधिवेशनको तयारी, आन्तरिक विवाद सुल्झाएर मात्रै महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने।
सहमति र सहकार्य, पार्टीका मुख्य निर्णयहरूमा इतर पक्षलाई पनि विश्वासमा लिनुपर्ने माग।
सभापति देउवाले भने कोइरालाका चासोहरूलाई सकारात्मक रूपमा लिँदै देखिएका प्राविधिक समस्या समाधान गर्न सम्बन्धित समितिलाई निर्देशन दिने बताएका छन्। यद्यपि, कोइराला पक्षले भने आफ्ना मागहरू सम्बोधन नभए पार्टीभित्र संघर्षका थप कार्यक्रम ल्याउने संकेत गरेको छ।


