Breaking News.... EverestOnlineKhabar
April 30, 2026

प्रधानमन्त्रीको निर्वाचन आजः देउवालाई स्पष्ट बहुमत…..

Loading

काठमाडौ,२१ जेठ ।
प्रमुख प्रतिपक्षी एमालेले अवरोध हटाए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार संसदबाट चौथोपटक प्रधानमन्त्री निर्वाचित हुनेछन् । एमालेले विगत केही दिनयता भरतपुर महानगरपालिकामा रोकिएको मतगणनालाई निरन्तरता दिनुपर्ने माग राखेर संसद् सञ्चालनमा अवरोध गर्दै आएको छ । कामचलाउ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र कांग्रेसनेता रामचन्द्र पौडेल, नेपाल लोकतानित्रक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंहलाई समर्थक राखेर देउवाले शनिबार प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार संसद्ले प्रधानमन्त्री चुन्ने कार्यक्रम छ ।
माओवादी केन्द्रसँग अघिल्लो असारमा भएको पाँचबुँदे सत्ता साझेदारी समझादारीअनुसार देउवाले प्रधानमन्त्रीका लागि संसद् भवन नयाँ बानेश्वर पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । देउवा यसअघि तीनपटक प्रधानमन्त्री भइसकेका छन् ।
स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्न गराएका प्रधानमन्त्री दाहालले स्थानीय तह दोस्रो चरण, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको भारी देउवाको काँधमा बिसाउन लागेका हुन् । नयाँ प्रधानमन्त्रीका लागि बहालवाला प्रधानमन्त्री प्रस्तावक बसेको नेपालको इतिहासमा पहिलोपटक हो । दाहाल नेतृत्वको गठबनधन सरकारलाई निरन्तरता दिँदै देउवाले प्रधानमन्त्रीमा उम्मेदवारीको सूचना संसद् सचिवालयलाई दिएका हुन् ।
सहमति र समझदारी कार्यान्वयन गर्दै वर्तमान गठबन्धन अघि बढ्ने दाबी कांग्रेस नेता विमलेन्द्र निधिको भनाई छ । उनले भनेः‘अविश्वास हटाएर सहमति र सहकार्यको दिशामा मुलुक अघि बढेको छ, प्रधानमन्त्रीमा निर्वाचित हुन हामीसँग स्पष्ट बहुमत भए पनि सकेसम्म धेरै दलको समर्थन लिने प्रयास छ ।’
बहुमतबाट प्रधानमन्त्रीमा निर्वाचित हुन २ सय ९७ सांसदको समर्थन चाहिन्छ । वर्तमान सत्ता गठबन्धनसँग ३ सय ११ सांसद्को समर्थन रहेको निधिको दाबी छ । संसद् सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउन शनिबार अपराह्न ४ बजेसम्मको समय दिएको थियो । नयाँ प्रधानमन्त्रीका लागि देउवाको एकल उम्मेदवारी परेको छ ।
नयाँ प्रधानमन्त्री चुन्न आइतबार बिहान ११ बजे संसद् बैठक डाकिएको छ । बैठक सञ्चालनमा कुनै बाधा नआए सोही बैठकले देउवालाई मुलुकको ४०औं प्रधानमन्त्री निर्वाचित गर्ने निश्चितजस्तै छ । तर, प्रमुख प्रतिपक्षी एमालेले भरतपुर महानगरपालिकाको मतगणना गर्न माग गर्दै केही दिनयता संसद् चल्न दिएको छैन । मतगणना क्रममा माओवादी केन्द्र र एमालेबीच भएको विवादमा ९० मतपत्र च्यातिएपछि गणना स्थगित छ ।
सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्न प्रधानमन्त्री दाहालले जेठ १० गते पदबाट राजीनामा गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ११ गते सहमतीय सरकार गठनका लागि सात दिनको समय दिएर संसद्मा प्रतिनिधित्व गर्ने दललाई आह्वान गरेकी थिइन् । सात दिनको समय दलहरूले त्यसै गुजारेपछि बहुमतीय प्रक्रिया सुरु भएको हो । संविधानको धारा २९८ को उपधारा ३ अनुसार संसद्ले प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाएको हो ।
संविधानको धारा २९८ र संसद् नियमावली, २०७३ को दफा ४९ (१) मा सहमतीय सरकारको व्यवस्था छ । यसअन्तर्गत दलीय सहमति कायम हुन नसके के गर्ने भन्नेबारे सोही दफाको उपनियम २ मा उल्लेख छ,‘उपनियम १ बमोजिम सहमति कायम हुन नसके प्रधानमन्त्रीको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुनेछ । त्यसको सूचना महासचिव वा सचिवले प्रकाशन गर्नेछन् ।’ धारा २९८ को (३) उपधारा (२) मा सहमति कायम हुन नसके संसद्को तत्काल कायम सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ ।
कांग्रेसले प्रधानमन्त्री निर्वाचनमा दुईतिहाइ बहुमत पु¥याउन कसरत गरिरहेको छ । १ सय ८१ सांसद् रहेको एमाले, ४ सांसद् रहेको नेपाल मजदुर किसान पार्टी र ३ सांसद् रहेको राष्ट्रिय जन मोर्चाले विपक्षमा मतदान गर्ने निश्चित छ । समर्थन जुटाउन ५ सांसद् रहेको मालेसहित केही दलसँग पनि छलफल जारी रहेको स्रोतको दाबी छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, नेकपा संयुक्त, अखण्ड नेपाल, समाजवादी जनता पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक थरुहट, खुम्बुवान राष्ट्रिय मोर्चा, थरुहट तराई पार्टी, दलित जनजातिसहितका दलले देउवाको पक्षमा मतदान गर्ने कांग्रेस दाबी छ ।
संघीय सद्भावना, राजपासहितका दलसँग संविधान संशोधनलगायत विषयमा आइतबार बिहान लिखित सम्झौताको तयारी भइरहेको स्रोतको दाबी छ । कांग्रेस नेताहरूले ती दलका नेतासँग शनिबार छुट्टाछुट्टै छलफल गरे । राप्रपाको आइतबार बिहान बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने अध्यक्ष कमल थापा निकट एक नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed