![]()
महोत्तरी,जेठ ।
महोत्तरी जिल्लामा केही दिनदेखि ह्वात्तै बढेको गर्मीसँगै जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १० जनासम्म कुकुरले टोकेका बिरामी आउन थालेका छन् । जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेको बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको महोत्तरी जिल्ला अस्पताल जलेश्वरले जनाएको छ । यसअघि कहिलेकाहीँ एक–दुईजना बिरामी मात्र आउने जिल्ला अस्पतालमा गर्मी बढेसँगै अहिले दैनिक आठ÷दशजना कुकुरले टोकेका बिरामी आउन थालेको चिकित्सक साकेश कर्णले बताए ।
उनले अहिले बढ्दो गर्मीसँगै कुकुरको मानसिक अवस्था बिग्रने गरेकाले गर्मीको मौसममा कुकुरको सम्पर्कमा जानेलाई कुकुरले बढी टोक्ने गरेका कारण अहिले जिल्ला अस्पतालमा कुकुरले टोकेका बिरामीको चाप ह्वात्तै बढेको बताए ।
तर विगत एक सातादेखि कुकुरले टोकेका बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको चिकित्सक कर्णले बताए ।
कुकुरले टोकेको प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीनदेखि पाँच भाइल (डोज)सम्म भ्याक्सिन दिनु परेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।


