![]()
काठमाडौ,१८ जेठ ।
सरकारले स्थानीय तह पुनस् संरचना आयोगले कायम गरेको सीमामा कुनै फेरबदल नगरी विराटनगर र वीरगन्जलाई महानगर घोषणा गरेको छ । ती दुई शहरलाई महानगर बनाउन सबै राजनीतिक दल र सांसदहरुको एकमत देखिएको र त्यसका लागि स्थानीयको मागपनि एकदमै धेरै रहेकाले ती सबै बिचार गरेर निर्णय भएको स्रोतले जनाएको छ ।
सर्वोच्चको आदेशपनि सीमा र संख्या हेरफेर नगर्ने खालको रहेको तर स्तरोन्नती गर्न विषयलाई नरोकेको मन्त्रालयको बुझाई देखिएको छ । मन्त्रालयले महानगर बनाउँदा आवश्यक पर्ने वडा र जनसंख्याको मापदण्डमा पुर्याएको छैन । यसअघि सरकारले जेठ ८ मा अन्य गाउँपालिका समेत गाभेर ती दुई उपमहानगरलाई महानगर बनाउने निर्णय गरेको थियो ।
त्यससँगै सरकारले ७४४ स्थानीय तहलाई ७६६ पुर्याउने निर्णय समेत गरेको थियो । तर, सर्वोच्च अदालतले स्थानीय तहको सीमा हेरफेर संख्या थपको विषय कानुन विपरीत रहेको भन्दै खारेज गरेको थियो । मन्त्रालयले विज्ञप्ती जारी गर्दै दुईवटै शहरको वडा र क्षेत्र यथावत राखी महानगर बनाइएको जनाएको छ । सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेशपनि जारी गरेको छ । नयाँ आदेशमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्य, कार्यकारी अधिकृत सबैको काम, कर्तव्य र अधिकार तोकिएको छ ।


