Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

बझाङ — बाक्लो हिमपातका कारण सडक अवरुद्ध भएपछि बझाङबाट धनगढी, महेन्द्रनगर र काठमाडौं जाने र त्यहाँबाट बझाङ भित्रिने यात्रु जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा अलपत्र छन् । यात्रुले सोमबार साँझदेखि रोकिएको बताए ।

बझाङ थलाराका यात्रु किशोर विष्टले आफ्नो फेसबुकमा व्यंग्य र आक्रोश मिश्रित स्टाटस लेख्दै भनेका छन्, ‘बझाङमा चिलगाडी उडाउँछौं भनेर फेसबुकका भित्ता रंगाउने नेताहरू कता हराउनुभएको छ ? हामी ४/५ सय यात्रु ३ दिनदेखि हिउँमा फसेका छौं । जाडोले मर्ने बेला भइसक्यो । न खाना छ, न तातोको व्यवस्था छ । अब बरु चिलगाडी चाहिँदैन, एउटा डोजर पठाएर बाटो छिटो खुलाइदिनुस् ।’

बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका दर्जनौं गाडी बित्थड, श्रीभावर, ढोल्यामोडलगायत ठाउँमा फसिरहेका छन् । तराईका जिल्ला र काठमाडौंबाट आएका गाडी विजयपुर, मुस्यालेक, नाचन्थली, बजपानीलगायत ठाउँमा अलपत्र परेको सुदूरपश्चिम यातायात व्यवसायी समितिका बझाङ काउन्टर इन्चार्ज दीपक कठायतले बताए ।

उनले हिउँमा फसेका यात्रुको र गाडीको संख्या एकिन नभए पनि दुवैतर्फ साना–ठूला गरेर ६०/७० वटा गाडी हिउँमा फसेको बताए । उनले भने, ‘६/७ सयको हाराहारीमा यात्रु अलपत्र छन् । उनीहरू फसेको ठाउँमा खानेकुराको अभाव भइरहेको छ ।’ राजमार्गका विभिन्न ठाउँमा एक फिट जति हिउँ जमेको र हिमपात नरोकिएका कारण यातायात अवरुद्ध भएको उनको भनाइ छ ।

‘बिरामी यात्रु र बूढाबूढीहरूको बिजोग छ,’ एक यात्रु रमिला रोकायाले भनिन्, ‘सक्ने हिंडेर पनि सुरक्षित ठाउँतिर गएका छन् । नसक्ने जाडो र भोकले सताइएका छन्,’ उनले हिउँले सबैतिर ढाकेका कारण आगो बाल्नका लागि दाउरासमेत नपाइएको बताइन् ।

यात्रुहरू आफैंले हिउँ पन्छाएर गाडी गुडाउने प्रयास गरिरहेको भए पनि सफल हुन नसकेको उनको भनाइ छ । सडक डिभिजन कार्यालय बैतडीको सहकार्यमा सडक खोल्ने प्रयास भइरहेको भए पनि लगातार हिमपातका कारण पटकपटक बाटो अवरुद्ध हुने गरेको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए । उनले जयपृथ्वी राजमार्ग खुलाउनका लागि बझाङ र बैतडीका प्रमुख जिल्ला अधिकारीले मंगलबारदेखि नै सक्रियता देखाइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed