Breaking News.... EverestOnlineKhabar
April 30, 2026

स्विट्जरल्यान्डको डावोसमा जारी विश्व आर्थिक मञ्चको ४९ औं नियमित बैठकमा नेपालमा लगानी गर्न आग्रह: प्रधानमन्त्री ओली

Loading

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेपाल राजनीतिक स्थायित्व एवं आर्थिक विकासतर्फ उन्मुख रहेको बताएका छन्। नेपालको शान्ति प्रक्रिया विश्वका लागि अनुकरणीय रहेको र विकसित मुलुकले आफूहरूलाई विकासमा सघाउनुपर्ने उनको भनाइ छ।

स्विट्जरल्यान्डको डावोसमा जारी विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)को ४९ औं नियमित बैठकका दुई सत्रमा प्रधानमन्त्रीले नेपालमा उपयुक्त वातावरण बनेकाले सबैलाई लगानी गर्न आग्रहसमेत गरे। फोरमको वार्षिक बैठकमा विभिन्न मुलुकका राजनीतिक दलका नेता, अर्थविद्, उद्योगी व्यवसायी, लगानीकर्ता, अनुसन्धाता, नागरिक समाजका अगुवालगायतको उपस्थिति छ।

मंगलबारको बहसमा दक्षिण एसियाको रणनीतिक दृष्टिबारे छलफल भएको थियो। बुधबारको बहसमा प्रधानमन्त्री ओलीले ‘लोकतन्त्रको भविष्य’ विषयक सत्रमा नेपालको लोकतान्त्रिक पद्धति एवं प्रतिबद्धताबारे धारणा राखे। प्रधानमन्त्री ओलीसँगै न्युयोर्क टाइम्सका प्रकाशक आर्थर ग्रेज सुल्जवर्जर, कोलम्बियाका राष्ट्रपति इभान ड्युक, अर्मानियाका प्रधानमन्त्री निकोल पसिन्यन, फाइनान्सियल टाइम्सका एसोसिएट एडिटर मार्टिन उल्फ र नाउ प्रोजेक्टका सीईओ डेनियल बलोउ–आरेस बहसमा सहभागी थिए।

‘नेपालले नयाँ लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अंगीकार गरी नयाँ संविधानअनुसार कानुन बनाइरहेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘नेपालले विकासका लागि धेरै प्रतीक्षा गर्न सक्दैन। उसले विश्वमा आफ्नो भूमिका पनि खोजिरहेको छ।’ वार्ताबाट द्वन्द्व समाधान गरिएको र नयाँ संविधान जारी गरेपछि नेपालले कानुनी संरचना तयार गरेर विश्वमै आफ्नो सम्बन्ध विस्तार गर्दै आफ्नो भूमिका खोजिरहेको उनको भनाइ छ।

नेपालको सामाजिक एवं आर्थिक रूपान्तरणका निम्ति वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको पनि प्रधानमन्त्री ओलीले बताए। नेपालले अहिले छिमेकसँग मात्र नभई विश्वसँग नै सहकार्य गर्दै लोकतान्त्रिक अभ्यास र शक्ति पृथकीकरणको विषयमा बहस गर्ने आधार तयार गरेको उनको भनाइ छ। विकासका लागि आफूहरूले धेरै समय कुर्न सक्ने अवस्था नरहेको र नेपालको प्रगतिमा विश्वले साथ दिनुपर्ने उनले बताए।

चीन र भारतबाट आउने रेलले ती देशसँगको सहकार्यलाई थप बलियो बनाउने प्रधानमन्त्री ओलीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed