Breaking News.... EverestOnlineKhabar
April 30, 2026

उत्तर कोरियाले अमेरिकालाई किन दियो नयाँ चेतावनी ?

Loading

बीबीसी । उत्तर कोरियाले आफ्ना अधिकारीहरूमाथि नयाँ प्रतिबन्धहरू लगाउने ट्रम्प प्रशासनको कदमको भर्त्सना गर्दै, त्यसले स्थायी रूपमा परमाणु अस्त्र निश्शस्त्रीकरण प्रभावित हुने चेतावनी दिएको छ। उत्तर कोरियामा प्रेसमाथि प्रतिबन्ध लगाइएको, रेडियो संकेतहरू रोकिएको र विदेशी चलचित्र हेर्ने मानिसहरूलाई थुनिएको विवरण आएपछि अमेरिकाले तीन उत्तर कोरियाली अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो।

वासिङ्टनले नयाँ प्रतिबन्धको घोषणा गर्ने बित्तिकै प्योङयाङले एक वक्तव्यमा यस्ता कदमले उत्तर कोरियालाई परमाणु कार्यक्रममा हेरफेर गर्न कुनै दबाव नदिने बताएको छ। उसले आफू अमेरिकी कदमका कारण “स्तब्ध र क्रुद्ध” भएको प्रतिक्रिया दिएको छ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले छापेको वक्तव्यले अमेरिकी विदेश मन्त्रालय “दुई देशबीचको सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन उद्धत रहेको” आरोप लगाएको छ। उत्तर कोरियाली नेता किम जङ-अन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच गत जुन महिनामा सिङ्गापुरमा भएको बैठकमा त्यस विषयमा अस्पष्ट सम्झौता भएको थियो। तर त्यसयता त्यस विषयमा थप प्रगति हुन सकेको छैन।

त्यो विषयमा हुने भनिएको थप वार्ता नोभेम्बर महिनामा अचानक स्थगित हुन पुगेको थियो। उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको परमाणु पर्यवेक्षण निकायका निरीक्षकहरूलाई समेत आफ्नो देश प्रवेश गर्न निषेध गरिसकेको छ। सिङ्गापुरमा भएको किम-ट्रम्प शिखर बैठकपछि उत्तर कोरियासँगको तनाव केही कम भएको अनुभव गरिए पनि त्यो स्थायी हुन सकेको छैन।

अब फेरि दुई पक्षबीच अर्को चरणको वार्ता हुनु पर्ने सुझावहरू आएपछि ट्रम्पले यो साता मात्रै आफू त्यस विषयमा खुला भए पनि अर्को वार्ताका लागि नहतारिएको प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed