![]()
मुस्ताङ। नेपाल टेलिकमले ‘हिमालपारीकाे जिल्ला’ उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’को पहुँच विस्तार गरेको छ। ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याइएको हो। मोबाइल र इन्टरनेट सेवाको गुणस्तर बढाउन नयाँ प्रविधि भित्र्याएको टेलिकमले जनाएको छ।
उपल्लो मुस्ताङको लोमान्थाङ, घमी, चराङ, सुरखाङ, छुसाङ, समर र स्याङ्बोचेमा ‘जिएसएम, बिटियस’ टावर निर्माण गरी सेवा सुरु गरिएको हो। ‘माइक्रोवेभ रेडियो लिङ्क’ प्रविधिले ‘भ्वाइस’ र ‘डाटा’मा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनियर केशव शर्माले बताए। ‘मुस्ताङबाट भि स्याट प्रविधि प्रतिस्थापन भएको छ’, इञ्जिनीयर शर्माले भने, ‘सेवाको गुणस्तर बढेको छ, राज्यको खर्च पनि घटेको छ।’
‘माइक्रोवेभ रेडियो लिङ्क’ले टेलिकमको अतिरिक्त आर्थिक भार कटौती हुनेछ। ‘भि स्याट’ हुँदा वर्षेनी विदेशी स्याटेलाइट कम्पनीलाई पैसा तिर्नुपर्ने अवस्था थियो।
‘पहिले ब्यान्डविथको डाटा क्षमता जम्मा २ सय ५० केबिपिएस थियो’, इन्जिनीयर शर्माले भने, ‘अहिले २ हजार एमबिपिएस छ, फोन नलाग्ने समस्या हटेको छ।’ भरपर्दो मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा पाएपछि उपल्लो मुस्ताङवासी पनि खुसी छन्। यसअघि सर्वसाधारण मोबाइलको लागि ‘भि स्याट’मा निर्भर थिए।


